म्याग्दीका खड्काले चितवनमा गरे बोयर बाख्राको नमुना बाख्रापालन (फोटो फिचर)

  • १७ असार २०७४, शनिबार
  • कमल खत्री
  • 49595 पटक पढिएको

म्याग्दी, १७ असार । म्याग्दीको बेनी नगरपालिका– २ खबराका ३७ बर्षका युवा योगेन्द्रबहादुर खड्काले चितवनमा गरेको बोयर जातको व्यवसायिक बाख्रापालन नेपालकै नमुना बनेको छ । तीन बर्ष अघिदेखि खड्काले भरतपुर महानगरपालिका–२३ मा जगतपुर एग्रो प्रा.लि. मार्फत उन्नत जातको ‘बोयर’बाख्रापालन सुरु गरेका थिए ।


खड्काले साउथ अफ्रिकाबाट तीन पटक गरि ११३ वटा बोयर बाख्राहरु ल्याएर बाख्रापालन थालेका हुन् । अहिले उनको फार्ममा झण्डै २ सय २० बोयर बाख्रा छन् ।‘‘ अधिकाँशले रैथाने जातका बाख्रा पालन गर्दै आएका छन्, राज्यले समेत बोयर जातको बाख्रापालनलाई ध्यान दिन नसकेको अबस्थामा मैले ठुलो लगानी गरि व्यवसायिक रुपमा यो फार्म सञ्चालन गरेको हुँ,’’–खड्काले भने ।


साउथ अफ्रिकाबाट बोयर जातका बोका र माउ बाख्रा गरि ११३ वटा खरिद गरेर ल्याउन मात्रै सुरुमा २ करोड २० लाख लगानी गरेका खड्काले खोर निर्माणमा ४० लाख र घाँस व्यवस्थापनमा १० लाख खर्चेका थिए । ‘‘ शुद्ध बोयर बोका प्रतिगोटालाई पाँच लाखसम्ममा किन्नु परेको थियो , त्यसमा १२ वटा बोका र १०१ माउ थिए, अहिले बाख्रा फर्ममा ४ करोड बढी लगानी गरिसकेको छु,’’–खड्काले थपे ।


बोयर जातको बाख्रा ठुलो परिणाममा पाल्नेमा खड्का मुलुककै पहिलो कृषक मानिन्छन् । खड्काले शुद्ध बोयर संगै स्थानीय जातका बाख्रामा क्रस गराईएको बोयर बाख्राहरु समेत उत्पादन गर्दै आएका छन् । शुद्ध बोयरको बोकालाई २ लाखदेखि साढे २ लाख र बोयर पाठीलाई दुई लाख सम्ममा विक्रि हुने गरेको कृषक खड्काले बताए । उनले हालसम्म शुद्ध र क्रस गरि चार सय बोयर बाख्रा विक्रि गरिसकेका छन् ।


छिटो तौल बढ्ने, मासु लाभदायी हुने र आम्दानी राम्रो हुने भएपछि बोयर बाख्रा पालनप्रति पछिल्लो समय बाख्रापालक कृषकहरु आकर्षित भईरहेका छन् । गत बर्ष बाख्रा विक्रिबाट २० लाख आम्दानी गरेका खड्काले यो बर्षदेखि बार्षिक ५० लाख देखि एक करोडको बोयर र बोयर क्रस बाख्रा विक्रि गर्ने लक्ष्य लिएका छन् । अहिले बोयर माउ मात्रै एक सय बाख्रा छन् ।

पाठापाठीको संख्या पनि सोही हाराहारीमा छ । बोयर बाख्राको मासु स्वास्थ्यको लागि लाभदायि हुने र छोटो समयमा नै तौल भारी मात्रामा बढाउन सकिने भएकाले बजारमा माग बढेपछि खड्काले थालेको बोयर बाख्रापालन फष्टाएको हो । उनले बोयर क्रस गरी उन्नत जातका पाठापाठीहरुलाई कृषकहरुलाई शुलभ मुल्यमा विक्रिको लागि फर्मको नजीकै अर्को शाखा समेत विस्तार गरेका छन् । यो बर्ष रु १ करोड बराबरको बाख्रा बिक्रि गर्ने लक्ष्य लिएको उनले त्यसबाट २५ लाख मुनाफा गर्ने योजना बनाएका छन् ।

सामान्यतया बोयर जातको एउटा बोका एक बर्षमा ६० देखि ८० किलोसम्मको हुने गर्छ । रैथाने र स्थानीय जातका बाख्राहरु दुई ÷तिन बर्ष पाल्दा समेत २२ देखि २५ किलोसम्म मात्रै उत्पादन हुने गरेपनि बोयर जातको बाख्रा एक बर्षमै त्यसको दोब्बर किलोसम्म हुने खड्काको अनुभव छ । स्थानीय जातको माउमा क्रस गराई उत्पादन हुने बोकाहरु समेत एक बर्षमै ४० देखि ५० किलोसम्म हुने गर्छ ।


दुई विघा आफ्नो र ८ विघा जग्गा थप भाडामा लिएर बोयर बाख्रापालन थालेका खड्काको फर्ममा अहिले ९ जनाले रोजगारि समेत पाएका छन् । सोही जग्गामा उनले बाख्राको लागि घाँसखेती समेत विस्तार गरेका छन् । बोयर बाख्रा पालनमा नेपालमै नमुनाको रुपमा विकास गरेका खड्काको बाख्रा फर्म अबलोकन गर्न आउनेहरुको सख्ंया समेत बढेको छ । खड्कालाई अहिले कृषकहरुले ‘नेपालकै बोयर बाख्राको किङ’को उपनाम समेत दिएका छन् ।

रोजगारिको लागि विदेश पलायन हुने युवाहरु माझ खड्काले स्वदेशमै पशुपालनबाट आकर्षक कमाई गर्न सकिन्छ भन्ने नमुना उदाहारण प्रस्तुत गरेका छन् । खड्काकी धर्मपत्नी प्रतिष्ठा खड्काले बाख्रापालनबाट परिवार सन्तुष्ट रहेको बताउँदै बोयर बाख्राको माग उच्च रहेको बताईन् ।


पछिल्लो समय कृषकहरु बोयर बाख्रापालनतर्फ आकर्षित भएकाले बोयर बोका र माउ बाख्राको माग बढी आउने गरेको उनले बताईन् । छोटो समयमै आकर्षक उत्पादने दिने बोयर जातको बाख्रा पालनलाई राज्यले समेत प्राथमिकता दिईरहेको अबस्थामा निजी क्षेत्रबाट खड्काले सञ्चालन गरेको फार्ममा मुलुकका विभिन्न क्षेत्रका कृषक तथा सरकारी कर्मचारीहरुको टोलि अध्ययन, अबलोकनको लागि पुग्ने गरेका हुन् ।

छिमेकी मुलुक भारतबाट समेत माग आईरहेको बताउने कृषक खड्काले स्वदेशकै माग पुरा गर्न नसकेको अनुभव सुनाए । बोयर जातको बाख्राले १५ महिनाभित्रमै पाठापाठी जन्माउने गर्छ भने दुई बर्षमा तिन पटक जुम्ल्याए बच्चा जन्माउने भएकाले समेत पछिल्लो समय कृषकहरु बोयर बाख्रापालनमा आकर्षित भईरहेका हुन् । बोयर बाख्राको दैनिक तिन देखि ४ सय ग्रामी तौल बढ्छ । सन १९०० को पहिलो दशकमा दक्षिण अफ्रिकामा विकास भएको बोयर जातको बाख्रा छिटो शारीरीक वृद्धी, तौल उच्च, अन्य जातका बाख्राको तुलनामा रोग प्रतिरोधात्मक क्षमत्ता बढी भएको र स्थानीय हावापानी अनुकुल भएकाले नेपालमा ब्यवसायीक कृषकहरुको बोयर जातका बाख्रा प्रती आकर्षण बढेको छ ।

 

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l