म्याग्दीमा चैतयता बिदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा राखिने

  • १४ चैत्र २०७६, शुक्रबार
  • 1816 पटक पढिएको

बेनी, १४ चैत । म्याग्दीमा चैत १ गतेदेखि यता विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा राखिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले गठन गरेको कमाण्ड पोष्टको शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना) भाइरस रोकथामका लागि क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो ।शनिबारदेखि भारत, खाडी र युरोपका लगायतका मुलुकबाट आएका सबैलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परिक्षण गरिने प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो । शंका र सन्त्रास हटाउन विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्ने निर्णय लिएको प्रजिअ ढकालले बताउनुभयो ।

माउन्ट एभरेष्ट आवासीय माविको हिलसाइड स्थित पुरानो भवनमा १०, न्यु वेष्ट पोइन्ट आवासीय माविको भवनमा ३० शैया क्षमताको क्वारेन्टाइन बनाइएको छ । वेष्ट पोन्टमा १३ वटा बेड तयार भएको र १७ वटा शनिबार बिहान तयार गरिने जनाइएको छ । नेपाली सेना, शसस्त्र र जनपद प्रहरी क्वारेन्टाइन निर्माणमा जुटेका छन् । रघुगंगा गाउपालिकाले ८ वटा वडामा ५ वटाका दरले ४० शैया क्षमताको क्वारेन्टाइन बनाएको छ ।

मालिका गाउपालिकाले दरवाङको छ्यारछ्यारेमा रहेको जनप्रिय माविको भवनमा ७ शैया क्षमताको क्वारेन्टाइन बनाएको छ । बेनीको क्वारेन्टाइनमा राखिनेका लागि बेनी नगरपालिकाले खाना खुवाउने जनाएको छ । क्वारेन्टाइनमा राखिएकाहरुलाई ज्वरो, रुघा, सुख्खा खोकी जस्ता कोरोनाका लक्षण देखिएमा बेनी अस्पतालको आइसोलेशनमा राखेर नमुना परिक्षण गर्न काठमाडौ पठाइने भएको छ । परिक्षणका क्रममा कोरोना पोजेटिभ देखिए थप उपचारका लागि काठमाडौ र नदेखिए घर पठाइने व्यवस्था मिलाइएको छ ।

म्याग्दीमा २०७६ चैत १ गतेदेखि बिदेशबाट आएकाहरुको वडा कार्यालयले लगत संकलन गरेका छन् । हालसालै विदेशबाट फर्किएका ९३ जनाको लगत संकलन भएको मध्ये चैत यता मात्रै आएका ६० जनालाई क्वारेनटाइनमा राख्ने निर्णय भएको कमाण्ड पोष्टका सदस्य समेत रहेका रेडक्रसका प्रतिनिधि सुरत केसीले जानकारी दिनुभयो । विदेशबाट आएकालाई घरमै एकान्तबास बस्न भनेपनि अटेर गरेको पाइएपछि चिकित्सक र स्वास्थ्यकर्मीको निगरानीमा क्वारेन्टनलाइनमा राख्ने निर्णय भएको हो ।

यसैबीच शनिबार बेनी लगायत म्याग्दीका मुख्य बजार क्षेत्रका सडकमा किटाणु मार्ने औषधी छर्कन लागिएको प्रजिअ ढकालले बताउनुभयो । बेनीका साथै दरवाङ, तातोपानी, बाबियाचौर र पोखरेबगरमा किटाणु मार्ने औषधी छर्कने तयारी भएको छ । बेनी नगरपालिकाको दमकल प्रयोग गरेर प्रहरीले छर्कने भएका छन् ।