बेनी अस्पतालमा ६ बेड क्षमताको आइसोलेसन कक्ष स्थापना (फोटो फिचर)

  • १४ चैत्र २०७६, शुक्रबार
  • 1547 पटक पढिएको

कमल खत्री
बेनी, १४ चैत । म्याग्दीको बेनी अस्पतालमा ६ बेड क्षमताको आइसोलेसन कक्ष स्थापना गरिएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको शङ्कास्पद बिरामीको उपचारका लागि अस्पतालमा आइसोलेसन कक्ष स्थापना गरिएको हो । तत्कालको लागि पूर्वतयारी स्वरुप ६ बेड क्षमताको आइसोलेसन कक्ष निर्माण गरिएको अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो । उहाँका अनुसार आबश्यकता अनुसार ११ बेड सम्म सञ्चालन गर्न सकिने गरि पूर्वाधारहरु तयारी अबस्थामा राखिएको छ ।

यस अघि बेनी अस्पताल, बेनी नगरपालिका , जिल्ला प्रशासन कार्यालय लगायतको सहकार्यमा बेनीको माउण्ट एभरेष्टको हिलसाइटमा रहेको भवनमा अस्थायी क्वारेनटाइन निर्माण गरिएको छ । जिल्ला सुरक्षा समितिले आबश्यकता अनुसार वेष्ट प्वाइन्टको भवनमा समेत आइसोलेसन र क्वारेनटाइन निर्माण गर्ने निर्णय गरिसकेको छ । बेनी अस्पतालमा अहिले नियमित ओपीडी सेवालाई बन्द गरि आकस्मीक र फिभर क्लिनिक सञ्चालन गरिएको छ ।

आइसोलेसन कक्षमा कोरोना सङ्क्रमणका शङ्कास्पद बिरामीको उपचार गर्ने, नमूना सङ्कलन गरेर केन्द्रमा पठाउने व्यवस्था मिलाईने अध्यक्ष कटुवालले बताउनुभयो । अस्पतालमा स्वास्थ्यकर्मीको सुरक्षाको लागि व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) को समेत उपलब्धता गराइसकिएको छ ।

कोरोना लक्षित उपचार व्यवस्थापन र रोकथाम गर्न आइसोलेसन कक्ष सञ्चालन र व्यवस्थापनको लागि बेनी अस्पताललाई गण्डकी प्रदेश सरकारबाट रु ५ लाख बजेट प्राप्त भएको छ भने जिल्ला विपद व्यवस्थापन समितिबाट रु ५ लाख, बेनी नगरपालिकाबाट रु ५ लाख र रघुगंगा गाउँपालिका बाट समेत रु २ लाख ५० हजार बजेट विनियोजन गर्ने निर्णय भएको छ ।