मुस्ताङबाट १ सय २१ जना विदेशी पर्यटक काठमाण्डौ पठाइयो

  • १३ चैत्र २०७६, बिहीबार
  • 1423 पटक पढिएको

म्याग्दी १३ चैत । कोरोना भाइरसको संक्रमण रोक्नका लागि नेपाल सरकारले देशलाई नै लकडाउन गरेसंगै मुस्ताङमा रोकिएका पर्यटकहरुको उद्धार गरिएको छ । अन्नपूर्ण चक्रिय पदमार्ग हूँदै हिमाल पारिको जिल्ला मुस्ताङमा पुगेका विभिन्न २१ मुलुकका १२१ जना पर्यटकहरुलाई उद्धार गरि काठमाण्डौ पठाईएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


तीन दिनको अवधिमा ती पर्यटकहरुलाई उद्धार गरि काठमाण्डौ पठाउने काम गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताए । अमेरिका, फ्रान्स, जर्मन, इटाली, स्पेन, क्यानडा, पोर्तुगल, बेलायत,कुक्रेन, न्युजील्याण्ड लगायतका मुलुकका पर्यटकहरुलाई बस मार्फत पोखरा हुँदै काठमाण्डौ पठाईएको हो । मुस्ताङमा रहेका अन्य पर्यटकको पनि खोजी भइरहेको प्रजिअ अर्यालले जानकारी दिए ।


‘‘कोरोनाको सतर्कतासंगै म्याग्दी हुँदै मुस्ताङ भित्रने सडकमा पूर्ण रुपमा रोक लगाइएको छ,तर मनाङ भएर थोरङ्लापास गरेर आएका पर्यटकहरु यही नै अल्पत्र पर्न थालेपछि सम्बन्धित मुलुकका राजदुताबाससंगको समन्वयमा उनीहरुलाई उद्धार गरि पठाएका हौँ’’–प्रजिअ अर्यालले भने । यहाँबाट पठाएका पर्यटकहरुलाई पर्यटन बोर्डले सम्बन्धित राजदुताबासको समन्वयमा उनीहरुकै मुलुकमा फिर्ताको लागि समन्वय गर्ने जनाईएको छ ।
तस्बिर सौजन्यः सुन्दरकुमार थकाली