गुर्जाका वडा अध्यक्षका अनुरोध : अहिलेलाई भ्रमणमा नआउनुहोस

  • १३ चैत्र २०७६, बिहीबार
  • 1662 पटक पढिएको

बेनी, १३ चैत । लामो बिदाको समयमा म्याग्दीका विभिन्न पर्यटकीय स्थलमा आन्तरिक पर्यटकहरु भ्रमणमा आउने गर्छन् । घोडेपानी, पुनहिल, मोहरेडाडा, नागी, टिकोट, खोप्रा, रुइसे, टोड्के, गुर्जा, मुदी बगर, रुप्से, नारच्याङ, तातोपानी लगायत ठाउँहरु भ्रमणका लागि आन्तरिक पर्यटकहरुको रोजाइमा पर्छन् । सरकारले कोरोना संक्रमण रोकथामका लागि लकडाउन घोषणा गरेपछि सहरबजार र विदेशबाट धेरै जना अहिले आफ्नो जन्मथलोमा आएका छन् । घरमै बस्न अनुरोध गर्दै लकडाउन घोषणा गरिएको हो ।

तर कतिपयले लकडाउनको महत्व नबुझेर भ्रमण र घुमघाममा निस्किन थालेका छन् । विदेशबाट आएका र सहरबाट गाउ फर्कीएकाहरु भ्रमणमा आउन सम्पर्क गर्न थालेका पर्यटकीय स्थलका बासिन्दाले बताएका छन् । यसैक्रममा धवलागिरी गाउपालिकाको गुर्जामा बुधबारदेखि बाहिरबाट आउनेलाई रोक लगाइएको छ । लुलाङ र ढोरपाटनबाट गुर्जा आउन लागेकाहरुलाई बाटोबाटै फर्कन अनुरोध गरिएको गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

स्थानीय अगुवा र वडाका जनप्रतिनिधिहरुको बैठकको निर्णय अनुसार कोरोना संक्रमणको जोखिम कायम रहदा सम्मको अवस्थामा गुर्जामा बाहिरबाट आउने नाका बन्द गर्ने निर्णय भएको वडा अध्यक्ष छन्त्यालले बताउनुभयो ।‘कतिपयले समय बिताउन गुर्जामा आउन लागेको सूचना आएकाले रोग भित्रन सक्ने जोखिम र जनताको स्वास्थ्य सुरक्षाका लागि गुर्जामा नआउन अनुरोध गरेका छौ । गुर्जा आउने नाका बन्द भएको जानकारी गराउछौ,’ वडा अध्यक्ष छन्त्यालले भन्नुभयो ।

यसअघि अन्नपूर्ण गाउपालिकाले पुनहिल लगायतका पर्यटकीय स्थलको भ्रमणमा रोक लगाएको थियो । तातोपानीका कुण्डहरु पनि पूर्ण रुपमा बन्द गरिएका छन् । गुर्जामा कोरोना रोकथामका लागि सचेतनामुलक कार्यक्रम गरिएको छ । हालै विदेशबाट आएकाहरुको विवरण संकलन गरेर उनिहरुलाई घरमै एकान्तबास बस्न लगाइएको वडा अध्यक्ष छन्त्यालले बताउनुभयो । विकास आयोजना र खेतबारीका काम गर्दा अलग अलग भएर काम गर्न लगाइएको छ । अल्पसंख्याक छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको गुर्जा गाउँ प्रकृति, संस्कृति र जैविक विबिधताका हिसाबले महत्वपूर्ण छ ।