कोरोना कहरः म्याग्दीमा आजदेखि एक साता निषेधाज्ञा जारी, अवज्ञा गरे कारबाही (भिडियो सहित)

  • ११ चैत्र २०७६, मंगलवार
  • 1925 पटक पढिएको

म्याग्दी, ११ चैत । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिन म्याग्दीमा उच्च सतर्कता अपनाइएको छ । सोमबार अत्याबश्यक बाहेकका सेवालाई बन्द गर्ने निर्णय गरेको जिल्ला सुरक्षा समितिले मंगलवार जिल्लामा निषेधाज्ञा नै जारी गरेको छ । आज विहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले मानिसहरु घरबाहिर निस्कने संख्या बढेपछि एक साताको लागि निषेधाज्ञा नै जारी गर्ने निर्णय गरेको हो ।
मंगलवार दिउँसो १२ बजेदेखि चैत १८ गते विहान ६ बजेसम्मलाई निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो ।

 

जिल्लासँग जोडिएका सम्पूर्ण नाका बन्द गरेको अवस्थामा समेत पैदलयात्रीहरुको चहलपहल देखिन थालेपछि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ तथा संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम प्राप्त अधिकारलाई प्रयोग गरि निषेधाज्ञा जारी गरिएको उहाँले बताउनुभयो ।‘‘गृहमन्त्रालयको परिपत्र अनुसार निषेधाज्ञाकै अबस्थाम पुगिएको हो , स्वास्थ्यमा प्रतिकुल प्रभाब नपरोस भन्ने नै मुख्य उदेश्य हो, समग्र जिल्लालाई निषेधित क्षेत्र घोषणा गरेका छौँ यसका लागि सबै सुरक्षा निकायलाई प्रभाबकारी परिचालन गरेका छाँै, ५ जना बढी भेला हुन पूर्ण रुपमा निषेध गरिएको छ’’–प्रजिअ ढकालले भन्नुभयो ।

निषेधाज्ञा जारी संगै अब औषधी उपचार, खाद्य बस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि ब्यक्ति घरबाट बाहिर निस्कन नपाईने भएको छ । त्यसैगरि अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक सबै प्रकारका सार्वजनिक वा नीजि यात्रु बाहक सवारी साधन सञ्चालनमा रोक लगाईएको छ ।

त्यसैगरि, स्वास्थ्य, सुरक्षा, खाद्यबस्तु, खानेपानी, दुध, विद्युत, दुरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला ब्यवस्थापन जस्ता अति आवश्यक सेवा बाहेक अन्य कार्यालय सञ्चारलनको लागि आवश्यक हुने कर्मचारी उपस्थित हुने ब्यवस्था गरी अन्य कर्मचारीलाई आवश्यक परेको बेला तत्काल उपस्थित हुने गरी सम्वन्धित कार्यालय प्रमुखले विदा दिने ब्यवस्था गर्न निर्देशन दिईएको छ ।
औषधी तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दुध, इन्धन उत्पादन गर्ने उद्योगहरु बाहेक नीजि क्षेत्रबाट सञ्चालित अन्य उद्योग विदा दिने ब्यवस्था मिलाउन भनिएको छ । त्यसैगगरि ब्यवसायीहरुले औषधी र औषधीजन्य सामाग्रीहरुको नियमित आपुर्तिको ब्यवस्था गर्ने भनिएको छ भने अभाव देखाई मूल्य वृद्धि वा कालाबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपुर्तिमा अवरोध गर्ने ब्यक्तिलाई प्रचलित कानुन बमोजिम नियन्त्रणमा लिई, सामाग्री जफत गरी रोगको रोकथाम वा नियन्त्रणमा उपयोग गरिने निषेधाज्ञामा उल्लेख गरिएको छ।