म्याग्दीमा अत्याबश्यक बाहेकका सेवा बन्द गरि आजरातिदेखि नै ‘लकडाउन’ (भिडियो सहित)

  • १० चैत्र २०७६, सोमबार
  • 1998 पटक पढिएको

म्याग्दी, १० चैत । कोरोना भाइरसको संक्रमण (कोभिड १९) फैलन नदिन म्याग्दीमा अत्याबश्यक बाहेकका सेवा बन्द गरि ‘लकडाउन’ गर्ने निर्णय भएको छ । जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा सोमबार बसेको सर्वदलिय सर्वपक्षिय बैठकले आज (सोमबार) राती १० बजेदेखि नै जिल्लामा कोरोना सतर्कता अपनाउँदै लकडाउन गर्नको लागि सुरक्षा समितिलाई सुझाब दिने निर्णय गरेको हो ।

जिसस प्रमुख देवेन्द्र बहादुर केसीको अध्यक्षतामा बसेको बैठकमा जिल्ला स्थित राजनीतिक दल, जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका प्रमुख र सरोकारवालाहरुको सहभागीता रहेको थियो । बैठकले आजरातीदेखि नै अत्याबश्यक बाहेक लामो तथा छोटो दुरीको यातायात, अत्याबश्यक बाहेकका पसलहरु समेत बन्द गर्ने निर्णय गरेको जिल्ला समन्वय अधिकारी ज्ञानराज कोइरालाले जानकारी दिनुभयो ।


चैत २१ गतेसम्मलाई जिल्लालाई लक डाउन गर्ने र उच्च सतर्कता अपनाउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । उहाँका अनुसार, विरामी परेको बाहेक अन्य अबस्थामा आवतजावतलाई पूर्ण रुपमा निषेध गरिनेछ । सर्वदलिय सर्वपक्षिय बैठकले जिल्लामा बाहिरबाट आउने मानिसहरुमा कारोनाको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै कालिपुल, रत्नेचौर, मौवाफाटँ, दाना, तोरीपानी, घोडेपानी, दरवाङ्ग, ताकम र मुनामा एकिकृता चेक पोष्ट राख्ने निर्णय भएको छ ।

त्यसैगरि जिल्लाका ४५ वटै वडाहरुलाई कोरोना प्रभावित देशहरुबाट आउनेहरुको निगरानी र तथ्याङ्क राख्न लगाउने र सो तथ्याङ्क जिल्ला हुँदै केन्द्रलाई जानकारी गराउने निर्णय भएको जिसस प्रमुख केसीले बताउनुभयो। अत्याबश्यक बाहेक घरबाट ननिस्कन र विदेशबाट आउने हरेक व्यक्तिलाई होम क्वारेन्टाइनमा बस्न सुझाब र निर्देशन दिईएको छ । त्यसैगरि जिल्लामा आबश्यक पर्ने खाद्यान्न, ग्यास, मास्क, सेनिटाइजर, औषधी, पेट्रोलियम पदार्थ लगायतको आपुर्तिको अवस्थाको अभिलेख राखेर वितरण ब्यवस्थामा सहयोग गर्न उद्योग वाणिज्य संघलाई आग्रह गर्ने निर्णय समेत भएको छ ।

दैनिक उपभोग्य सामाग्रीहरु विक्रि वितरण गर्ने पसलहरु मंगलबारदेखि विहान १० बजेदेखि दिउँसो ४ बजेसम्ममात्र संचालन गर्ने सर्वदलिय बैठकले निर्णय गरेको छ। त्यसैगरि माउण्ट एभरेष्ट बोडिङ र वेष्ट पोइन्ट आवसीय माविको भवनलाई आबश्यक परेको खण्डमा आइसोलेसन वार्ड बनाएर प्रयोग गर्ने निर्णय समेत भएको छ ।