मंगलाको काफलचौर र कोत्रबाङ जोड्ने नवनिर्मित झोलुङ्गे पुल उद्घाटन (फोटो फिचर)

  • ५ फाल्गुन २०७६, सोमबार
  • कमल खत्री
  • 2567 पटक पढिएको

कमल खत्री
म्याग्दी, ५ फागुन । म्याग्दीको मंगला गाउँपालिका–२ को काफलचौर र कोत्रवाङलाई जोड्न भाईबाङ खोलामा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । निर्माण सम्पन्न गर्ने निर्धारित समय भन्दा अगाबै निर्माण सम्पन्न भएको सो पुलको सोमबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले उद्घाटन गर्नुभएको हो ।

कुल रु ४७ लाख ७ हजार ९ सय ३३ रुपैयाँको लागतमा निर्माण भएको १०४ मिटर लामो झोलुङ्गे पुलबाट कोक्रवाङ, भाईबाङ, ¥यालेखोर, कुहुँ, भरजुला, भाइवाङका बासिन्दा लाभान्वित भएका छन । पुल निर्माण भएपछि १४९ घरधुरीका ८५८ जनसंख्या लाभान्वित भएको उपभोक्ता समितिका अध्यक्ष बिरबहादुर खत्रीले जानकारी दिनुभयो ।


नेपाल सरकार झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्र्तगत स्विस सरकारको प्राविधिक सहयोगमा मंगला गाउँपालिकाद्धारा उपभोक्ता समिति मार्फत निर्माण भएको झोलुङ्गे पुलमा गैरसरकारी संस्था मिलन म्याग्दीले सामाजिक परिचालन सहयोग गरेका थिए ।

पुल निर्माणमा स्वाप कार्यक्रम अन्र्तगत संघिय सरकारको सशर्त अनुदान ३७ लाख २१ हजार पाँच सय २३ र पाँच लाख ७४ हजार ५०३ बराबरको सामग्री खरिद सहयोग तथा मंगला गाउँपालिकाको दुई लाख ८७ हजार ३०७ रुपैयाँ लगानी र समुदायको १ लाख २४ हजार ६ सय बराबरको श्रमदान भएको छ ।

गत भदौ २१ गतेदेखि निर्माण सुरु भएको यस झोलुङ्गे पुल निर्माण कार्य आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्न समय रहेपनि माघ १० गते नै सम्पन्न भएको थियो । नवनिर्मित पुलको उद्घाटन गर्नुहुदै मन्त्री बस्नेतले लक्ष्य अगाबै योजनालाई सम्पन्न गरि नमुना कार्य गरेको भन्दै प्रसंसा गर्नुभयो । उहाँले पुल निर्माणले समुदायलाई खोला वारपारमा सहजता मिल्नुको साथै गाउँमा विकासको सकरात्मक सन्देश प्रवाह गरेको समेत बताउनुभयो ।

मन्त्री बस्नेतले यस बर्ष गण्डकी प्रदेश सरकारले १२१ वटा झोलुङ्गे पुल निर्माण गर्न लागेको जानकारी दिदै स्थानीय तह, प्रदेश र संघिय सरकारबिचको सहकार्यले विकास निर्माण योजना प्रभाबकारी र गुणस्तरीय बन्नेमा जोड दिनुभयो ।

मंगला गाउपालिकाका अध्यक्ष सतप्रसाद रोकाले झोलुङ्गे पुल निर्माण भएपछि आवत जावतमा सहज हुनुका साथै घुमाउरो बाटोको यात्रा गर्नुपर्ने बाध्यता हटेको बताउनुभयो । अध्यक्ष रोकाले मन्त्री बस्नेतलाई गाउँपालिकाको विकास निर्माण योजनाहरुको प्राथमिकताबारे जानकारी गराउँदै सिम–कुहुँ–टोड्के सडक स्तरोन्नतिका लागि प्रदेश सरकारसंग साझेदारी गर्ने प्रस्ताव गर्नुभयो । उहाँले सो अवसरमा गाउँपालिकाको माग प्रस्ताब मन्त्री बस्नेतलाई हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले लक्ष्य अगाबै विकास निर्माण योजनालाई सम्पन्न गर्ने योजना अनुसार गाउँपालिका अघि बढेको जानकारी गराउँदै प्रदेश र संघ सरकार मार्फत आउने योजनालाई सफलतापूर्वक कार्यान्वयन गर्ने भन्दै थप योजनाहरुको लागि बजेटको व्यवस्थापन गर्न मन्त्री बस्नेतलाई आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष धनबहादुर खातीले खानेपानी, सिचाई र सडक योजनाको लागि आबश्यक बजेट विनियोजन गर्न माग गर्नुभएको थियो । कार्यक्रममा पुल बनाउन जग्गा उपलब्ध गराउनुभएका सर्वजित जिसी र ढगबहादुर खड्कालाई सम्मान गरिएको थियो । गाउँपालिका अध्यक्ष रोकाको अध्यक्षतामा भएको कार्यक्रममा उपभोक्ता समितिका सदस्य सोमबहादुर खड्काले आम्दानी खर्च विवरण सार्वजनिक गर्नुभएको थियो भने मंगला मावि बाबियाचौरका शिक्षक रामचन्द्र पौडेलले सञ्चालन गर्नुभएको थियो ।

पुल उद्घाटन कार्यक्रममा स्थानीयबासीले भजनकिर्तन र नाचगान गरेर खुसीयाली मनाएका थिए भने गण्डकी प्रदेश सभा सदस्य विनोद केसी, जिसस प्रमुख देवेन्द्रबहादुर केसी, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, मालिका गाउँपालिकाका उपप्रमुख खरमायाँ बिटालु लगायतको सहभागीता रहेको थियो ।

 

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l