केराबारीकाे बाँझो जमिनमा गरिएको रहरलाग्दो तरकारी र फलफुल खेती (फोटो फिचर)

  • १५ माघ २०७६, बुधबार
  • 3897 पटक पढिएको

कमल खत्री
बेनी,१५ माघ । खेतियोग्य जमिनलाई बाँझो राखेर रोजगारिको लागि विदेशीनेको संख्या बढीरहेको सन्दर्भमा यहाँका एक व्यक्ति भने बर्षौदेखि बाँझो जमिनमा रहरलाग्दो तरकारी र फलफुल खेती गर्न सफल हुनुभएको छ । म्याग्दी सदरमुकाम बेनीमा व्यवसाय गर्दै आउनुभएका खेम केसीले पर्वतको जलजला गाउँपालिका–७ केराबारी स्थित छविसमा १५ बर्षदेखि बाँझो रहेको जमिनलाई उपयोग गरि व्यवसायिक तरकारी र फलफुल खेतीमा लाग्नुभएको हो ।

गाउँ छाडेर शहरमा व्यापार व्यवसायमा लागेलगत्तै बाँझो बसेको जग्गा झाडी र जंगल बन्न थालेपछि खेतीयोग्य जमिनलाई खेर जान नदिने अठोट लिएर कृषि उद्यममा लागेको केसीले बताउनुभयो । गत बर्षको फागुनदेखि बाँझो जग्गालाइ उपयोगमा ल्याउने अभियानमा लाग्नुभएका केसीले अहिलेसम्म ५५ रोपनी जग्गामध्ये करिब २५ रोपनी जग्गामा तरकारी र फलफुल खेती विस्तार गरिसक्नुभएको छ ।
बाँझो जमिनमा झाडी फडानी, खेतियोग्य जमिन निर्माण र फलफुलका विरुवा खरिदमा मात्रै रु ११ लाख बढी खर्च भएको केसीको भनाई छ ।

एलभिन फलफुल तथा तरकारी फर्म स्थापना गर्नुभएका केसीले ६ सय कागती , १ हजार केरा, ४ सय आँप, १५० लिचि, १ सय दाँते ओखर, अम्बा लगायतका फलफुलका विरुवा रोपण गरिसक्नभएको छ । आलु, बन्दा, काउली, साग, गोलभेडा, मटर, खुर्सानी, काँक्रो, घिरौला, करेला लगायतको तरकारी खेती समेत सुरु गर्नुभएका केसीले अहिलेसम्म ५ लाख बराबरको तरकारी विक्रि गरिसकेको जानकारी दिनुभयो ।

‘‘ बजारमा व्यवसायबाट राम्रै आम्दानी थियो, तर यहाँ जग्गा बाँझो रहँदा पटक्कै मन मानेन, व्यवसायमा कर्मचारी राखेर म खेर गएको जमिनमा खेती गर्ने अभियानमा लागेको हुँु, गत बर्ष तीन महिनासम्म यहाँको झाडी फाँडे, अहिलेत तरकारी र फलफुल खेतीले हराभरा भएको छ, यो अभियानले आत्मनिर्भर उन्मुख व्यवसायतर्फ लाग्न प्रेरित गरेको छ’’–केसीले भन्नुभयो । ६ बर्ष बैदेशिक रोजगारिमा विताउनुभएका जलजला गाउँपालिका–७ धाईरिङका स्थायी बासिन्दा केसीले बिगत १२ बर्षदेखि म्याग्दी सदरमुकाम बेनीमा अटो पार्टस व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ ।

वरीपरी जंगलले घेरिएको फाँटमा तरकारी खेती र पाखाहरुमा गरिएको फलफुल खेती लोभलाग्दो बनेको छ । १० वटा घारबाट मौरीपालन र एभोगाडोको खेती समेत सुरु गर्नुभएका केसीले केराबाट छिट्टै उत्पादन दिने भएकाले बाँझो जमिनमा गरेको लगानीबाट छिट्टै प्रतिफल आउने अपेक्षा गरेको बताउनुभयो । फर्ममा प्रांगारिक मलको मात्रै प्रयोग गरि आर्गानिक तरकारी उत्पादन गर्न थाल्नुभएका केसीले ग्राहकहरुको सहजताको लागि बेनीमा आफ्नै तरकारी पसल समेत सञ्चालनमा ल्याउनुभएको छ । कतिपय उपभोक्ता फर्ममै पुगेर तरकारी खरिद गर्ने गरेको उहाँले बताउनुभयो । उहाँले निकट भबिश्यमै यसै क्षेत्रमा स्थानीय जातको कुखुरा र माछापालनसंगै कालिजको व्यवसायिक पालनलाई समेत अघि बढाउने योजना बनाएको जानकारी दिनुभयो ।