करेन्टबाट एक जनाको मृत्यु : मिस्त्रीखोलामा एक जना वेपत्ता

  • ९ आश्विन २०७६, बिहीबार
  • 2050 पटक पढिएको

 

म्याग्दी, ९ असोज । म्याग्दीमा भएका छुट्टा छुट्टै घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । धवलागिरी गाउँपालिका–५ मल्कवाङमा बुधबार करेन्ट लागेर एक जनाको मृत्यु भएको हो भने अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको मिस्त्रीखोलामा खसेर एक जना वेपत्ता भएका हुन् ।

बिजुलीको पोलमा चढेको बेला आकस्मिक रुपमा विद्युत आपुर्ति हुँदा करेन्ट लागेर मल्कवाङका ५१ वर्षीय पदमबहादुर छन्त्यालको मृत्यु भएको त्यहाँबाट बालकुमार सुनारले जानकारी दिनुभयो । बल्वको होल्डर फेर्नका लागि छन्त्याल पोलमा चढ्नुभएको थियो ।

निलगिरि र रेले खोलाको दोभानको जंगलमा अरिङ्गाल पोल्न जाने क्रममा पर्वतको जलजला गाउँपालिका–५ शालीजाका भविन्द्र गर्बुजा मिस्त्रीखोलामा वेपत्ता भएका हुन् । मिस्त्रीखोलामा काठको फड्के हालेर जंगलतर्फ जाने क्रममा गर्बुजा खोलामा खसेर वेपत्ता भएका स्थानीयबासी समेत रहनुभएका जिसस सदस्य मेखबहादुर गर्बुजाले बताउनुभयो ।

खोलामा राखिएको फड्के बगाएपछि फसेका तीन जनालाई नेपाली सेनाको श्रीबक्स गुल्मको नारच्याङ बेसक्याम्पका सैनिक र मिस्त्रीखोला जलविद्युत आयोजनाको सहयोगमा राति उद्दार गरिएको जिसस सदस्य गर्बुजाले बताउनुभयो ।

वेपत्ता गर्बुजा निर्माणाधिन ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजनाको ठेकेदार कम्पनी हाइ हिमाल कन्ट्रक्सनका मजदुर हुन । उनको खोजी जारी छ ।