ज्ञानप्रकाश माविको ४४ औ वार्षिकोत्सव

  • ७ आश्विन २०७६, मंगलवार
  • 2079 पटक पढिएको

 

दाना, ७ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको ज्ञानप्रकाश माविको ४४ औ वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार विभिन्न कार्यक्रमका साथ मनाएको छ ।२०७५ को माध्यमिक शिक्षा परिक्षा (एसइइ)मा जिल्लाको सामुदायिक विद्यालयतर्फ उत्कृष्ट र शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयको नमुना विद्यालय कार्यक्रमका लागि छनौट भएको ज्ञानप्रकाश माविले वार्षिकोत्सवको अवसरमा सम्मान तथा पुरस्कार वितरण गरेको छ ।

कार्यक्रममा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्री नरदेवी पुनले शिक्षाको गुणस्तर सुधारका लागि बालमैत्रि शिक्षण बिधि, प्रबिधिको प्रयोगमा जोड दिनुभयो । उहाँले म्याग्दीमा यस वर्ष तीन वटा विद्यालयमा प्राबिधिक विषयको पठनपाठन सुरु, दुई वटा विद्यालयमा आवासीय कार्यक्रम लागू र दुई वटा नमुना विद्यालय छनौट भएको बताउनुभयो ।

यसलाई म्याग्दीको शैक्षिक क्षेत्रमा महत्वपूर्ण उपलब्धि मान्नुपर्ने र थप कार्यक्रमका लागि पहल गरिएको मन्त्री पुनले बताउनुभयो । सो अवसरमा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले आफूले पाउने सेवा सुबिधाबाट स्थापना गरेको अक्षयकोषबाट २०७५ को माध्यमिक शिक्षा परिक्षा (एसइइ)मा अन्नपूर्ण गाउँपालिकामा उत्कृष्ट हुने तीन जना विद्यार्थीलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

छात्रतर्फ ज्ञानप्रकाश माविका एलीस पाइजालाई पचास हजार, छात्रातर्फ बराबर जिपिए अंक ल्याएका ज्ञानप्रकाशकी एलीना केसी र मुक्तिमार्ग माविकी पवित्रा खड्कालाई २५÷२५ हजार रुपैयाँ प्रदान गरिएको हो । अध्यक्ष पुनले आफूले जनप्रतिनिधिको हैसियतमा प्राप्त गरेको सेवा सुबिधा वापतको रकमबाट अक्षयकोष स्थापना गरेर सो बाट शैक्षिक क्षेत्रमा परिचालन गर्ने घोषणा गर्नुभएको छ ।सोही अवसरमा ज्ञान प्रकाश माविबाट २०७५ को एसइइमा ए ग्रेडमा उतिर्ण हुने पाँच जनालाई विद्यालयको तर्फबाट पाँच÷पाँच र बेलायतका प्रवासीहरुबाट पाँच÷पाँच हजार रुपैयाँका दरले पुरस्कृत गरिएको थियो ।

दुर्गाप्रसाद गंगाकुमारी स्मृति कोषबाट कक्षा १२ मा उत्कृष्ट अंक ल्याएकी अञ्जु तिलीजालाई पाँच हजार प्रदान गरिएको छ । कक्षा ११ र १२ मा उत्कृष्ट हुने एक÷एक जनालाई दश÷दश हजार, देउमाया स्मृति कोषबाट तह प्रथम, दितृय र तृतीय हुनेलाई, करिमादेवी स्मृति कोषबाट खेलकुदमा उत्कृष्टलाई सम्मान गरिएको थियो ।उत्कृष्ट शिक्षक हिरादेवी पुर्जा, वुधबहादुर पुर्जा, अनिता तिलीजा र सुरत केसीलाई उत्कृष्ट अभिभावक तथा पाँच जना उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । विद्यालयका प्रअ शान्तबहादुर नेपालीले विद्यालयको शैक्षिक, भौतिक, आर्थिक, प्रगति र नमुना विद्यालयको भावि योजना सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दलबहादुर थापा, गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, सहायक वन अधिकृत चन्द्रमणी सापकोटा लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए ।