धवलागिरि र मालिका गाउँपालिका जाेड्ने दुई मोटेरबल पुल निर्माण शुरु

  • २३ भाद्र २०७६, सोमबार
  • 10006 पटक पढिएको

म्याग्दी, २२ भदौ । म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकाको सिमानामा दुई मोटरेबल पुल निर्माण शुरु भएको छ । प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय म्याग्दीले भारवाङको म्याग्दी खोला र फेदीको दाङखोलामा मोटरेबल पुल निर्माण शुरु गरेको हो ।मालिका–७ भारवाङ र धवलागिरि–७ बगरको सिमानाको म्याग्दी खोलामा ४० मिटर लामो पुल बनाउन शुरु भएको कार्यालयका इञ्जिनीयर आशिष पोखरेलले बताउनुभयो । मालिका–५ र धवलागिरि–७ को सिमाना फेदीखोलामा १८ मिटर लामो पुल निर्माण हुनलागेको हो । भारवाङको पुल निर्माणका लागि देव एण्ड सायर बिएन जेभीले रु छ करोड २४ लाखमा ठेक्का लिएको छ ।

फेदीखोलाको पुल बनाउन इन्द्रेणी फेवा जेभीले रु एक करोड ९३ लाखमा ठेक्का पाएको छ । गत साउनमा ठेक्का सम्झौता भएको दुई वटै पुल १८ महीनामा सम्पन्न गर्ने लक्ष्य छ । निर्धारित समयभित्रै पुल बनाइसक्ने बिएन कन्ट्रक्सनका सञ्चालक नारायण जिसीले बताउनुभयो ।निर्माण कम्पनीले पुलको फाउण्डेशन (जग) खन्न शुरु गरेका छन् । दुईतर्फ एक/एक मिटर फुटपाथ हुने पुलको गाडी गुड्ने भागको चौडाइ छ मिटर हुनेछ । भारवाङघाटको पुल प्रिस्टे«स र फेदीको पुल टिबिएम प्रविधिको हो । बेनी–दरवाङ–बिम–ताकम–मुना–जलजला–ढोरपाटन सडक आयोजनाअन्तर्गत दरवाङदेखि बिम हुँदै मुनासम्म सडक निर्माण भए पनि म्याग्दी खोलामा पुल निर्माण हुन नसक्दा प्रयोगमा आउन सकेको छैन ।

यसको विकल्प मानिएको दरवाङ–धारापानी–ताकम–मुना सडकअन्तर्गत फेदीखोलामा धवलागिरी गाउँपालिकाले अघिल्लो वर्ष अस्थायी पुल बनाएको थियो । दुई वटै पुलले धवलागिरि गाउँपालिकालाई सिधा सडक सञ्जालमा जोड्ने अध्यक्ष थमसरा पुनले बताउनुभयो ।ती पुल निर्माणपछि बाह्रै महीना नियमित सवारी सञ्चालन गर्न सकिनेछ । यसैबीच पूर्वाधार विकास कार्यालयले दरवाङदेखि फेदी हँुदै धारापानी जोड्ने सडक कालोपत्रको तयारी भएको छ ।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेर ठेक्का प्रक्रियाको तयारी गरिएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनीयर ओमराज ढुङ्गानाले बताउनुभयो । कार्यालयले बेनीदेखि बाबियाचौरसम्म र लाम्पाटादेखि दरवाङसम्म दुई प्याकेजमा कालोपत्र आयोजना सञ्चालन गर्ने भएको हो ।