ठाडाखानीमा भुकम्पले क्षति पु¥याएको विद्यालय भवन पुनःनिर्माण (फोटो फिचर)

  • ११ बैशाख २०७६, बुधबार
  • 2663 पटक पढिएको

सन्तोष गौतम
ठाडाखानी ११ बैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका ६ ठाडाखानीको मालिका आधारभुत विद्यालयको कक्षा कोठा भवन पुननिर्माण भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणको सहयोगमा निर्माण भएको दुई कोठे भवन बुधबार चौथो गोरखा भूकम्प स्मृति दिवसको अवसर पारेर एक समारोहका बिच विद्यालयलाई हस्तान्तरण तथा उद्घाटन गरिएको छ ।

प्राधिकरणको २० लाख १६ हजार ५३२ रुपैयाँ अनुदान, विद्यालयको एक लाख ३१ हजार रुपैयाँ बराबरको नगद र समुदायको एक लाख बराबरको श्रमदानमा निर्माण भएको भवनको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले उद्घाटन गर्नुभयो । कक्षा ८ सम्म पठनपाठन हुने असी जना भन्दा बढी विद्यार्थी रहेको विद्यालयमा १० वटा कक्षा कोठा आवश्यक पर्नेमा थप एक वटा अपुग भएको प्रअ खिमकुमारी छन्त्यालले बताउनुभयो । यसअघि शिक्षा कार्यालयको १९ लाख रुपैयाँ अनुदानमा तीन कोठे र अमेरिकाको जिएनआई संस्थाको सहयोगमा दुई कोठे भवन बनाइएको थियो ।

नयाँ दुई कोठे भवनलाई बारेर चार वटा कोठा बनाएर पठनपाठन सञ्चालन गरिएको छ । भवन निर्माण भएपछि त्रिपाल र जस्तापाटाको टहरामुनी पढाउनुपर्ने बाध्यता हटेको प्रअ छन्त्यालले बताउनुभयो । सो कार्यक्रममा जिसस प्रमुख केसीले पूर्वाधारसंगै विद्यालयको शैक्षिक गुणस्तर र पठनपाठनमा पनि सुधार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले ठाडाखानी हुदै मल्कवाङ जोड्ने सडक बनाएर म्याग्दी र रघुगंगाको चक्रपथ बनाउने योजना अघि बढाएको जानकारी दिनुभयो ।

रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले विद्यालयमा आवश्यक थप एक वटा कक्षा कोठा भवन बनाउन गाउँपालिकाले सहयोग गर्ने र पाखापानी–ठाडाखानी सडक नियमित सञ्चालनका लागि घोप्टेखोलामा ह्युम पाइप राख्न लागिएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले भुकम्प प्रतिरोधी क्षमताको पूर्वाधार निर्माण गरेर भुकम्पको अवस्थामा क्षति न्युनीकरण गर्न सचेत रहनुपर्ने बताउनुभयो । प्राधिकरणका जिल्ला आयोजना प्रमुख शिवराम गेलालले गत वर्ष सुरु भएका ११ र यो वर्ष सुरु भएका २० वटा विद्यालय भवन निर्माण योजना यसै वर्ष सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा, वडा अध्यक्ष मनकुमार शेरपुञ्जा, वडा सदस्य टेकजित छन्त्यालले मन्तब्य व्यक्त गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गमबहादुर छन्त्यालको अध्यक्षता, स्थानीय मन छन्त्यालको सञ्चालन शिक्षक हिराकुमारी छन्त्यालको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा प्रअ खिममाया छन्त्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।