प्रवासीद्धारा विद्यालयलाई पाँच लाख सहयोग

  • ११ बैशाख २०७६, बुधबार
  • 2326 पटक पढिएको

बेनी ११ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा रहेको देउराली आधारभुत विद्यालयलाई प्रवासी एक परिवारले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ । विद्यालयमा कम्प्युटर कक्षाका लागि आवश्यक पूर्वाधार व्यवस्थापन गर्नका लागि राम्चे घर भई हाल बेलायतमा रहनुभएका स्वर्गीय मोहनबहादुर पुर्जाका श्रीमती र भाईहरुले मंगलबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु गर्बुजालाई रकम हस्तान्तरण गर्नुभयो ।

दिवंगत मातापिताको स्मृतीमा मोहनबहादुरकी श्रीमती कृष्णकुमारी, भाई डिलबहादुर, छकबहादुर, गमबहादुर र बहादुर पुर्जाका परिवारको तर्फबाट संयुक्त पाँच लाख रुपैयाँ सहयोग प्राप्त भएको हो । पुर्जा परिवारले कम्प्युटर कोठा बनाउन रकम अपुग भएमा थप सहयोग पनि गर्ने प्रतिवद्धता जनाउनुभएको व्यवस्थापन समितिका उपाध्यक्ष फासबहादुर गर्बुजाले बताउनुभयो ।

यसैगरी राम्चे आमा समूहलाई पनि सहयोग गर्नुभएको छ । आमा समूहलाई गमबहादुर पुर्जाले पन्ध्र हजार, उहाँकी छोरी डाक्टर चुमन पुर्जाले पाँच हजार, बहादुर पुर्जाले पन्ध्र हजार र स्टाफ नर्स रेखा पुर्जाले पाँच हजार रुपैयाँ सहयोग गर्नुभएको छ । सहयोगदाता पुर्जा परिवारलाई मंगलबार राम्चेमा देउराली आधारभुत विद्यालय, राम्चे आमा समूहले सम्मान गरेका थिए ।