विप्लव समूहका पूर्व विद्यार्थी नेता विश्वकर्माद्धारा पार्टी परित्याग गरेको घोषणा

  • १० बैशाख २०७६, मंगलवार
  • 1871 पटक पढिएको

बेनी १० बैशाख । प्रहरीको खोजी सूचिमा रहेका नेत्रबिक्रम चन्द् (विप्लव) समूह निकट विद्यार्थी संगठनका म्याग्दीका एक नेता सत्ताधारी नेकपामा प्रवेश गरेका छन् । बेनी नगरपालिका २ भकुण्डेका विप्लप निकट अखिल क्रान्तिकारीको पूर्व गण्डक ब्युरो इञ्चार्ज प्रकाश विश्वकर्माले मंगलबार एक प्रेस विज्ञप्ती प्रकाशन गर्दै पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो ।

विप्लव समूहबाट यसअघिनै अलग्गीएको बताउँदै उनले सो समूहको कुनै पनि गतिबिधिमा संलग्न नहुने र सत्ताधारी नेकपामा आवद्ध हुने विज्ञप्ती मार्फत जनाउनुभएको छ । प्रहरीको खोजीको सूचिमा रहेका विश्वकर्मा सहायक प्रजिअ महेश सुवेदी, प्रहरी निरिक्षक धु्रबकुमार शर्मा, नेकपाका अध्यक्ष गोविन्द पौडेल, टेकबहादुर विश्वकर्मा, नगर संयन्त्र सदस्य नारायण जिसी, युवा नेता दिनेश केसी र पत्रकारहरुको रोहबरमा सार्वजनिक हुनुभएको थियो ।

विश्वकर्मालाई एनसेलको टावरमा आगजनी लगायत विप्लव समूहको गतिबिधिमा संलग्न भएको भन्दै प्रहरीले खोजीको सूचिमा राखेको थियो । सरकारले गतिबिधि गर्न प्रतिबन्ध लगाएपछि म्याग्दीमा विप्लव समूहका नेता तथा कार्यकर्ताहरु राजिनामा दिने र सत्ताधारी नेकपामा प्रवेश गर्न थालेका छन् ।

स्थानीय प्रशासन र सुरक्षा निकायको निगरानीका कारण पेशा व्यवसाय गर्न असहज भएको भन्दै यसअघि विप्लव समूहका जिल्ला सदस्य प्रेम श्रीस, शिक्षक संगठनका कार्यबाहक जिल्ला अध्यक्ष थमबहादुर पुन र सदस्य सन्तोष गिरीले पदबाट राजिनामा दिनुभएको थियो ।