सडक स्तरोन्नती सम्पन्नसंगै श्रमिकलाई सम्मान

  • २५ चैत्र २०७५, सोमबार
  • 3071 पटक पढिएको


म्याग्दी, २५ चैत । विकास निर्मााण योजना सम्पन्न भएपछि नेता, समन्वयकर्ता र चन्ददातालाई सम्मान गरिने प्रचलन नौलो होईन । कही कतै सरकारी कर्मचारीहरुलाई समेत सम्मान गरिदै आईएको छ । तर म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वर हुदै काउँलेगौडा र पात्लेखेत सम्मको सडक स्तरोन्नती योजनामा भने उपभोक्ता समितिले आयोजनामा खटिएका श्रमिकलाई सम्मान गरेका छन् ।


बेनी नगरपालिकाबाट १९ लाख ३० हजार बजेट विनियोजन र ३ लाख ६४ हजार रुपैया बराबरको जनश्रमदान गरि सडक स्तोरन्नती गरिएको उपभोक्ता समितिका अध्यक्ष तेजेन्द्र बाँनियाले बताए ।
सडकस्तोरन्ती योजनालाई गुणस्तरीय, लक्षअगावाई सम्पन्न गर्नका लागि काम गर्ने श्रमिकहरुको मेहनतको कदर गर्दै सम्मान गरिएको अध्यक्ष बानियाले बताए । उनका अनुसार योजनामा परिचालन भएको डोजर चालक, डोजर संचालकसहित २५ जना श्रमिकहरुलाई सम्मान गरिएको हो ।


२०७५ पुष १५ गतेबाट स्तरोन्नती काम सुरु भएको गलेश्वर, काउँलेगौडा र पात्लेखेत सम्मको सडक फराकिलो, घुम्ती सुधार, ढलान, नाली निर्माण लगायतको काम गरिएको थियो ।
२०७६ साल बैशाख मसान्तसम्ममा सम्पन्न गर्नुपर्ने योजना दुईमहिना अघिनै सम्पन्न गरिएको छ । समाजका युवाहरुको सक्रियता र समुदायको सहजताले योजना लक्ष अघिनै सम्पन्न भएको अध्यक्ष बानियाँले जानकारी दिए ।


श्रमिकहरुको सम्मानका लागि बेनी नगरपालिका ९ का वडासदस्य अम्मर बस्नेत, केवाईसी युवा क्लवका अध्यक्ष चिरञ्जीवी सुवेदी र अनुगमन समिति र समाजसेवीहरुको उपस्थितमा श्रमिकलाई सम्मानपत्र र खादाले सम्मान गरिएको थियो । विकास निर्माण खटिने श्रमिकहरुलाई सम्मान गर्दै जिल्लामा नयाँ सन्देश प्रवाह गरेका छन् ।
दुइ किलोमिटर सडक स्तरोन्नती सडकमा ८६ ओटा ग्याविङ, १ सय ३० मिटर सडक सोलिङ निर्माण गरिएको छ भने अन्य ठाउँमा कच्ची नाली, घुम्ती फराकिलो, २० मिटर सडक ढलान काम गरिएको छ ।