सामुहिक चौरीपालन

  • ५ चैत्र २०७५, मंगलवार
  • 2624 पटक पढिएको

 

सन्तोष गौतम

म्याग्दी, ५ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा विदेशबाट फर्किएका पुरुषहरु बाबा समूहमा आवद्ध भएर सामुहिक चौरीपालन गरेका छन् ।व्यवसायिक चौरी पालन मार्फत वैदेशिक रोजगारको विकल्पमा गाउँमै आयआर्जन गर्ने लक्ष्य राखेर प्रगतिशिल बाबा समूह मार्फत चौरीपालन गरिएको हो । ‘३८ वटा चौरी छन्,’ समूहका अध्यक्ष गमबहादुर पुर्जाले भने ‘चौरीपालनमा अहिलेसम्म १४ लाख रुपैयाँ भन्दा धेरै लगानी भइसकेको छ ।’

नौमती बाजा बजाएर कोषमा जम्मा गरेको र व्यतिmगत रुपमा संकलन गरेर समूहमा आवद्ध सात जनाले तीन वर्षअघि छ लाख रुपैयाँ लगानी गरी १२ वटाबाट चौरीपालन सुरु गरेका थिए ।
चौरीगाईको संख्या बढाउन र गोठ सुधार गर्न थप आठ लाख लगानी गरेका छन् । चौरीपालनका लागि मोहरेडाँडा, मथेनी, फुलबारी र जलजलाको उच्च पहाडी क्षेत्रको जंगललाई प्रयोग गरेका छन् ।एक जनालाई मासिक दश हजार रुपैयाँ ज्याला दिएर चौरी हेर्ने गोठाला राखेको कोषाध्यक्ष पलबहादुर पुर्जाले बताए ।

‘विदेशबाट फर्किएपछि सामाजिक काम र आयआर्जनका लागि समूह बनाएका थियौ,’ काषाध्यक्ष पुर्जाले भने ‘चौरीबाट अहिलेसम्म आम्दानी त भएको छैन् । तर संख्या र लगानी थपिदै गएको छ ।’
चौरीगाइको दूधबाट चिज उद्योग सञ्चालन गर्ने समूहको लक्ष्य छ । याकको मासू र रगत पनि बिक्री हुन्छ । समूहका सदस्यहरु गाउँमा हुने बिवाह, छेवार, किरीयामा बाजा बजाउँछन् । उनिहरुले मगर समुदायको परम्परागत पुख्यौली नृत्य पनि देखाउँछन् । बाजा बजाउँदा र पूख्यौली देखाउँदा भएको आम्दानी सहभागिले वितरण गरेर केही कोषमा जम्मा गर्छन् ।

समूहको अगुवाइमा राम्चेमा जुवातास, मदिरा नियन्त्रण र विकास निर्माणको काममा पनि सहयोग गरिएको सचिव सुनबहादुर पुर्जाले बताए ।‘संस्कृति पनि जोगाएका छौ,’ पुर्जाले भने ‘जिविकोपार्जन पनि भएको छ ।’ समूहले लोप हुन लागेको पूख्यौली नृत्यलाई नयाँ पुस्तामा हस्तान्तरण गरेको उनले बताए ।

युवा युवतीहरुलाई पूख्यौली नाच्न र गाउन सिकाइएको थियो । उनिहरुले नौमती बाजाको अभावमा संस्कृतिनै हराउन थालेपछि आफै बाजा बजाउन थालेका बताएका छन् । २०६० सालमा राम्चेमा बाबा समूह गठन भएको थियो ।बाबा र आमा समूहको सक्रियताले विकास योजना कार्यान्वयनका लागि जनसहभागिता जुटाउन सहयोग पुगेको वडा अध्यक्ष खमबहादुर गर्बुजाले बताए । ‘अधिकारका लागि नभएर सामाजिक काम, संस्कृति संरक्षण र आयआर्जनको क्षेत्रमा यहाँको बाबा समूहले नमुना काम गरेका छन्,’ उनले भने ।