फागु पूर्णिमाको अवसरमा तारो हान्ने खेल सुरु

  • ५ चैत्र २०७५, मंगलवार
  • 2563 पटक पढिएको

बेनी ५ चैत । अल्पसंख्यक थकाली समुदायले महत्वका साथ मनाउन तोरन ल्ह (फागु पूर्णीमा) पर्व मंगलबारदेखि सुरु भएको छ ।थकाली समुदायले फागु पुर्णीमाको अवसरमा हरेक वर्ष तीन दिनसम्म धुमधामका साथ मनाउने तोरन ल्ह पर्वको अवसरमा परम्परागत तारो हान्ने खेलको संरक्षणका लागि बेनीमा तारोखेल सुरु भएको छ ।

थकाली सेवा समिति बेनी क्षेत्रले आयोजना गरेको तीन दिन सम्म सञ्चालन हुने प्रतियोगिताको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गरेका हुन् । कार्यक्रममा नगर प्रमुख श्रेष्ठले संख्यात्मक हिसाबले न्युन भएपनि सांस्कृतिक रुपमा धनी थकाली समुदायको मौलिक कला र संस्कृति संरक्षण गर्नु राज्यको दायित्व भएको बताए ।

प्रजिअ लीलाधर अधिकारीले धर्म, संस्कृति, रितिरीवाजको संरक्षणमा सबै मिलेर लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा पूर्व राज्यमन्त्री भिमप्रसाद गौचन, थकाली सेवा समितिका केन्द्रिय सदस्य हिक्मत शेरचन, बेनी नगरपालिका ७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य र मगर संघका उपाध्यक्ष डगमाया पाईजाले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष जगतनारायण गौचनको अध्यक्षता, उपाध्यक्ष कृष्णुकमार शेरचनको स्वागत र सचिव सुन्दरमान शेरचनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्रिय सदस्यमा निर्वाचित भएका हिक्मत शेरचन र दरवाङ क्षेत्रका अध्यक्ष बिनोद भट्टचनलाई सम्मान गरिएको थियो ।