गाउँको विकासमा किन्दुबासीको लाखौ लगानी

  • २३ कार्तिक २०७५, शुक्रबार
  • सन्तोष गौतम
  • 2629 पटक पढिएको

किन्दु, १५ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ किन्दुका बासिन्दाले करिब एक करोड रुपैया जुटाएर विकासका पूर्वाधार निर्माण गरेका छन् ।

पोखरा, काठमाडौ लगायत देशका विभिन्न सहर, बेलायत, हङकङ, दक्षिण कोरीया, अमेरीका लगायतका देशमा पुगेका किन्दुका बासिन्दाको सहयोग र स्थानीयको श्रमदानमा सडक, सामुदायिक भवन, सत्तल र खेलमैदान निर्माण भएको हो ।

समुदायको ९१ लाख ६७० रुपैयाको लगानीमा स्वाँत–किन्दु ग्रामिण कृषि सडक, बहुउद्देश्यिय खेलमैदान, सामुदायिक भवन र छिर्केश्वर मन्दिर परिसरमा सत्तल निर्माण भएको स्थानीय अगुवा बागबिर पाइजाले जानकारी दिनुभयो ।

सडक, भवन, खेलमैदान र सत्तलको किन्दु टोल विकास समितिले बिहीबार आयोजना गरेको समारोहमा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन र सांसद बिनोद केसीले उद्घाटन गर्नुभएको थियो ।

समिति र शिख्तानी समाजको पहलमा आर्थिक स्रोत जुटाइएको थियो । ४९ लाख २३ हजार ७७५ रुपैयाँमा ६.५ किलोमिटर सडक, २८ लाख ५५ हजार ६६ रुपैयाँमा खेलमैदान, सात लाख ४४ हजार रुपैयाँमा सभाहल र पाँच लाख ७४ हजार ७७० रुपैयाँमा सत्तल निर्माण भएको निर्माण समितिका अध्यक्ष पदमबहादुर चोचाङ्गले बताउनुभयो ।

पूर्वाधार निर्माणका लागि ८० घरधुरी किन्दुबासीले चार लाख २५ हजार रुपैया बराबरको श्रमदान, तत्कालीन जिल्ला विकास समितिले एक लाख असी हजार र अन्नपूर्ण गाउँपालिकाले चार लाख ३८ हजार रुपैयाँ सहयोग गरेका छन् ।

पोखरामा १५ लाख, २१ हजार ८४२, बेलायतबाट १४ लाख ७० हजार दुई सय र किन्दु माइती भएका चेलीहरुले नौ लाख ५८ हजार १५५ रुपैयाँ सहयोग गरेका छन् । पोखराको रामबजार निवासी देवी पुनले बिवाह भएर गएपनि जन्मथलोको माया लागेर विकासका लागि सहयोग गरेको बताउनुभयो ।

माइती आउन पहिले दुई दिन लाग्ने गरेकोमा अहिले पोखराबाट पाँच घण्टामै किन्दु पुगेको पुनले बताउनुभयो । बेलायतमा आर्थिक संकलन अभियानको नेतृत्व गरेका ज्ञानबहादुर तिलीजाले गाउँमा सडक आउने भएपछि प्रवासमा उत्साहका साथ सहयोग जुटेको बताउनुभयो ।

किन्दुका बासिन्दाहरुले पनि आठ लाख ९० हजार ४६८ रुपैयाँ संकलन गरेका छन् । कोरियाबाट सात लाख ८० हजार, लेखनाथबाट पाँच लाख २७ हजार, खाडी मुलुकबाट चार लाख ७३ हजार ४७, हुकुबाट चार लाख पाँच हजार १००, सिंगापुरबाट चार लाख चालीस हजार ६००, चितवनबाट दुई लाख १७ हजार १११, गाछेपानीबाट ७२ लाख २३०, अन्य गाउँकाबाट सात लाख ५६ हजार १७५ रुपैयाँ सहयोग प्राप्त भएको छ ।

सडक निर्माण भएपछि आवत–जावत, ढुवानी, आलु लगायत कृषि उपज निकासी गर्न सजिलो भएको र बिरामी हुँदा समयमै अस्पतालमा पुगेर उपचार गर्न पाएको किन्दुका ज्ञानबहादुर शेरपुञ्जाले बताउनुभयो ।

स्वाँता खोलाको मोटरेबल पुल निर्माण सम्पन्न, घोस्केखोर खोलामा अर्को पुल र झारवाङ सम्म पुगेको सडकलाई पाउद्धारसंग जोड्नुपर्ने किन्दुबासीको माग छ । ५६ मिटर लम्बाइ र २५ मिटर चौडाइ भएको सुनगाभा युवा कल्वको खेलमैदान निर्माण गर्न किन्दुका मुक्तीराम र यमबहादुर पुर्जा तथा उहाँकी आमा डिलीसरा पुर्जाले दुई रोपनी चार आना एक दाम क्षेत्रफलको जग्गा उपलब्ध गराउनुभएको छ ।

बास्केटबल र भलिबल खेल सञ्चालन गर्न सकिने ढुंगा बिछ्याइएको खेलमैदान भएपछि खेलअभ्यास र खेलकुद प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ । एक कोठे सभाहल सहितको सामुदायिक भवन निर्माण भएपछि बैठक बस्न खुल्ला चौर र व्यक्तिका घरमा पुग्नुपर्ने समस्या हटेको आमा समूहकी सुनदेवी तिलीजाले बताउनुभयो ।

सतिदेवीको भुँडी खसेर छिर्केश्वर शिवालय नाम रहन गएको छिर्केश्वर मन्दिरमा सत्तल निर्माण भएपछि भक्तजनलाई सहज भएको संरक्षण समितिका तिर्थबहादुर पुर्जाले बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाको विकट क्षेत्रमा पर्ने किन्दुको विकासमा सरकारी निकायबाट पर्याप्त सहयोग नभएकाले आफै अग्रसर भएर पूर्वाधार बनाएको किन्दुबासीले बताएका छन् ।

उद्घाटन समारोहमा मन्त्री पुन, सांसद केसी र गाउँपालिकाका अध्यक्ष पुनले किन्दुबासीले राज्यको तुलनामा धेरै गुणा बढी आर्थिक स्रोत जुटाएर विकासका पूर्वाधार तयार पारेर विकासमा जनसहभागिताको नमुना प्रस्तुत गरेको भन्दै स्थानीयबासीको प्रशंसा गरेका गर्नुभएको थियो ।

उहाँहरुले सडकको स्तरोन्नती, मोटरेबल पुल र थप पूर्वाधार निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उद्घाटन कार्यक्रममा स्थानीयबासीले नाचगान र भोजभतेर गरेर खुसीयाली समेत मनाएका थिए ।

स्वाँत–किन्दु ग्रामिण कृषि सडकको उद्घाटन गरिदै । तस्विर सुरेन गुरुङ

सन्तोष गौतम