जलजलाले सफ्टवेयर बनायो

  • ३० आश्विन २०७५, मंगलवार
  • सन्तोष गौतम
  • 2111 पटक पढिएको

बेनी ३० असोज । जलजला गाउँपालिकाले सम्पती तथा भुमिकर संकलनका लागि आफ्नो छुट्टै सफ्टवयरको विकास गरेको छ । गाउँपालिकाबासिको नाममा रहेको जग्गा तथा उक्त जग्गामा बनेका घर, गोठ, टहरा लगायतको विवरण कम्प्युटरको माध्यमबाट व्यवस्थित र सुरक्षीत अभिलेख राख्नका लागि स्फ्टवयर विकास गरेको गाउँपालिकाको सूचना प्रबिधि अधिकृत मिलन मल्लले बताए ।

विवरण संकलनका लागि गाउँपालिकाले तयार पारेको फारम अनुसारको सफ्टवयर बनाएर अभिलेख राख्न लागेको मल्लले बताए । गत साउन र भदौ महिनामा गणकहरुले घरदैलो गरेर जग्गा तथा संरचनाको साथै आर्थिक सम्पन्नता स्तरीकरण विवरण संकलन गरेका थिए ।
राजस्व शाखाका प्रमुख भेषनाथ आचार्यको नेतृत्वमा असोज १४ गतेदेखि सूचना प्रबिधि अधिकृत मल्ल, शुसिला शर्मा ढकाल र अनिताकुमारी शर्माको टोलीले सुरु गरेको तथ्याङ्क कम्प्युटर सफ्टवयरमा प्रबृष्ट गर्ने काम सत्तरी प्रतिशत सकिएको छ ।

चार हजार ८०० जना करदाताको सम्पती विवरण संकलन भएकोमा सोमबारसम्म तीन हजार ६०० जनाको अभिलेख कम्प्युटरमा प्रविष्ट गराइएको राजस्व शाखा प्रमुख आचार्यले जानकारी दिए । जलजलामा सम्पती तथा भुमीकर तिर्ने छ हजार करदाता रहेको अनुमान गरिएको छ ।
संबैधानीक ब्यवस्था अनुसार जलजलाको गत असारमा भएको गाउँसभाले पारित गरेको सम्पती तथा भुमिकर ब्यवस्थापन कार्यबिधि २०७५ अनुसार विभिन्न मापदण्डको आधारमा वैज्ञानिक रुपमा करको दर निर्धारण गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले जानकारी दिए ।
कार्यबिधिले एक लाख सम्मकालाई एक सय, एक लाख एक देखि दुई लाख सम्म २५०, दुइ लाख एक देखि ५ लाखसम्म १८०, पाँच लाख देखि दश लाख सम्म प्रतिलाख ५६, दश लाख १ देखि २० लाख सम्म प्रतिलाख ५५ रुपैयाका दरले कर निर्धारण गरेको छ ।

बीस लाख १ देखि तीस लाख सम्म प्रतिलाख ५४, तीस लाख एक रुपैयाँदेखि चालीस लाख सम्म प्रतिलाख ५३, चालीस लाख एक देखि पचास लाख सम्म प्रतिलाख ५२ र पचास लाख रुपैया भन्दा बढी प्रतिलाख ५१ रुपैयाका दरले कर तिर्नुपर्ने कार्यबिधीमा उल्लेख छ ।

आगामी मंसिर १ गतेदेखि सुरु गर्ने तयारी भएको सम्पत्ती तथा भुमीकरबाट यस वर्ष चालिस लाख रुपैया आम्दानी हुने अनुमान गरिएको छ । नागरीकको क्षमत्ता अनुसार वैज्ञानिक बिधी अपनाएर कर संकलन गरिने गाउँपालिकाले जनाएको छ ।

सन्तोष गौतम