नदी कटान रोक्न रघुगंगालाई डाईभर्सन गराइयो

  • ३० भाद्र २०७५, शनिबार
  • सन्तोष गौतम
  • 2610 पटक पढिएको

गलेश्वर ३० भदौ । रघुगंगा गाउँपालिका ३ राहुघाट र बेनपा ९ गलेश्वरको बस्ती संरक्षण तथा कटानका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडक सञ्चालनका लागि रघुगंगा नदीलाई डाईभर्सन गराइएको छ । कटान रोकथामका गरी थप क्षत्ती हुन नदिनका लागि कालीगण्डकी र रघुगंगाको दोभानमा शनिबार एक्साभेटर परिचालन गरेर डाईभर्सन गराइएको हो । जिल्ला विपद् ब्यवस्थापन समितिको पहलमा गलेश्वरतर्फ करिब एक सय मिटर खोल्सा बनाएर नदीलाई डाईभर्सन गराई कटान भईरहेको सडक र गायत्री मन्दिरतर्फ नदीको चापलाई कम गराउने प्रयास गरिएको छ ।

प्रजिअ लिलाधर अधिकारीले डाईभर्सन गरी साँघुरीएको नदीलाई फराकीलो भएर बग्ने बनाई धार्मीक पर्यटकीय महत्वको गायत्री मन्दिरको संरक्षणका साथै कटान गरेको ठाउँमा फिलीङ गरेर ग्यावीयन पर्खाल निर्माण गरी सडक खुलाउने तयारी गरिएको जानकारी दिनुभयो । बाढी र पहिरोका कारण ७६ किलोमिटर दुरीको बेनी जोमसोम सडक विगत एक हप्तादेखि अवरुद्ध हुँदा स्थानीयबासीका साथै मुस्ताङ जाने आउने, तिर्थयात्री र पर्यटकहरुको बिचल्ली भएको छ । मुस्ताङका कृषकले उत्पादन गरेका स्याउ बजार पठाउन समस्या भएको छ ।

यसैगरी रघुगंगाको कटानको जोखिममा रहेको राहुघाटको बस्ती संरक्षणका लागि ग्यावियन पर्खाल निर्माण भएको छ । विपद् ब्यवस्थापन समितिले उपलब्ध गराएको २२ थान ग्यावीयन स्थानीयबासी, नेपाल प्रहरी र नेपाली सेनाको टोलीले श्रमदान गरेर ढुंगा भरेका छन् । बेनपा ९ तर्फ भएको कटान नियन्त्रणका लागि बाढी कम भए लगत्तै काम सुरु गरिने बेनी नगरपालिकाले जनाएको छ ।  यसैबीच रघुगंगामा आएको बाढीले गलेश्वर र बेनी खानेपानी उपभोक्ता संस्थाको मुख्य पाईपलाइन बगाएको छ । बेनी खानेपानीको पुम्दीखोलाबाट ल्याइएको पानीको पाईप बेलिब्रिज नजिकै र गलेश्वर खानेपानीको पत्रेवन क्षेत्रमा करिब पाँच सय मिटर पाईप बगाएको छ ।

आलोपालो प्रथा कायम गरेर दूधखोलाको मुहानबाट आउने मात्र पानी वितरण गरिरहेको बेनी खानेपानी उपभोक्ता संस्थाले मर्मतको काम गरिरहेको छ । माझफाँटको सानादह मुहानबाट ल्याएको पानी वितरण गरेको गलेश्वर खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष बमबहादुर पुनले मर्मतका लागि विपद् ब्यवस्थापन समितिमा माग गरिएको बताउनुभयो । सवारी साधनको अत्याधीक चाप रहने बेनी जोमसोम सडक छिटो खुलाउन र जोखिमयुक्त क्षेत्रको संरक्षणका लागि पहल गरिएको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले बताउनुभयो ।

सन्तोष गौतम