मोनाको तेस्रो सम्मेलन पोर्चुगलमा हुने

  • १५ भाद्र २०७५, शुक्रबार
  • 2078 पटक पढिएको

बेनी १५ भदौ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिको तेस्रो साधारणसभा पोर्चुगलमा हुने भएको छ । आगामी अक्टुबरको २१ र २२ तारिखमा पोर्चुगलको लिसबोन शहरको साना लिसओवा होटलमा हुने साधारणसभाका लागि मोनाका उपाध्यक्ष योगकुमार फगामीको संयोजकत्वमा साधारण सभा मुलआयोजक समिति गठन भएको छ । आन्तरिक तयारीका लागि भने मोना पोर्चुगल लाई जिम्मेवारी दिइएको छ ।

साधारणसभामा पाँचै महादेशबाट म्याग्देलीहरुको उत्साहजनक सहभागिता रहने बताइएको छ । साधारणसभाको तयारी सुरु गरिएको संयोजक फगामीले बताउनुभयो । साधारणसभाका लागि जापान, कोरिया, हङकङ, मकाउ लगायतका एशियन मुलकहरुबाट समेत उल्लेख्य प्रतिनिधिहरुको सहभागिता हुने मोनाका एशिया प्यासिफिक संयोजक ददिवल खड्काले बताउनुभयो ।

साधारणसभामा जिल्लाबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद तथा मन्त्रीहरु, उद्योग वाणिज्य संघका पदाधिकारी, राष्ट्रिय जीवनमा ख्याती प्राप्त जिल्लाका बुद्धिजीवी, समाजसेवीहरुलाई अतिथिका रुपमा बोलाईने भएको छ । जिल्लाका पत्रकारहरुका साथै प्रतिभावन कलाकारहरुलाई समेत सो साधारणसभामा सांगितीक कार्यक्रमका लागि निम्त्याइने भएको छ ।

तुलनात्मक रुपमा म्याग्देलीहरुको संख्या युरोपमा बढी भएकाले पोर्चुगलमा साधारण सभा गर्न लागेको मोनाका अध्यक्ष चक्रबहादुर थापाले बताउनुभयो । अन्य वर्षहरुमा पनि अनुकुलता हेरी विभिन्न मुलुकका साधारणसभाको आयोजना गरिने मोनाले निती लिएको छ ।

महाधिवेशन भने जिल्लामै गरिने बताएको छ । गत वर्षको अक्टोबरमा म्याग्दीको दरवाङमा भएको दोस्रो महाधिवेशनले न्युजिल्याडमा ब्यवसायरत थापाको नेतृत्वमा मोनाको अन्तराष्ट्रिय कार्यसमिति गठन गरेको थियो ।