घारखोला–घोडेपानी सडक कालोपत्रेको तयारी

  • ४ भाद्र २०७५, सोमबार
  • सन्तोष गौतम
  • 2788 पटक पढिएको

म्याग्दी ४ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालीकाको केन्द्र पोखरेबगरदेखि पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक कालोपत्रे गर्ने तयारी भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तरगत भुकम्प आपतकालीन आयोजना मार्फत पोखरेबगर देखि घार, खिवाङ, शिख, चित्रे हुदै घोडेपानी जोड्ने सडक स्तरोन्नतीसंगै कालोपत्रे गर्ने तयारी भएको हो । ४४ करोड रुपैया लागत अनुमान गरिएको विस्तृत आयोजना प्रतिवेदन स्वीकृत भएपछि ठेक्का प्रक्रिया अघि बढेको अन्नपूर्ण गाउँपालिका ६ का वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले जानकारी दिनुभयो ।

१८ किलोमिटर ४५० मिटर सडकलाई फराकीलो पार्ने, नाली बनाउने, ढलान र कालोपत्रे गर्ने योजना रहेको छ । काम सुरु भएको २७ महिनामा आयोजनाको काम पुरा गर्ने लक्ष्य रहेको जिल्ला प्राबिधिक कार्यालयका ईञ्जिनियर रवीन मर्हजनले आईतबार घारमा आयोजित प्रारम्भिक वातावरणीय परिक्षण सम्बन्धि सुझाव संकलन कार्यक्रममा जानकारी गराउनुभयो । ११ किलोमिटर सडक कालोपत्रे र बाँकीमा ढलान तथा ग्राभेल गरिने भएको छ । पक्कि नाली बनाइने ७ मिटर फराकीलो सडकको ३.५ मिटर चौडाईमा कालोपत्रे गरिने ईञ्जिनियर मर्हजनले बताए । आयोजना प्रमुख शिवराम गेलालले ठेक्का प्रक्रिया सकिएलगत्तै छनौट हुने ठेकेदार आयोजना स्थलमा परिचालन हुने बताउनुभयो ।

कार्यक्रममा सहभागी स्थानीयबासीहरुले आयोजनालाई वातावरणमैत्री हरित सडक बनाउन, स्थानीयलाई रोजगारीमा प्राथमिकता दिन, प्याकेज बिभाजन गरेर का मगर्न, नालीको ढल र पानी तथा सडक विस्तार गर्दा निस्कने ढुङ्गा माटोको सुरक्षित व्यवस्थापन गर्न सुझाव दिएका छन् ।हाल म्याग्दी जिल्लाकै जोखिमयुक्त, अप्ठ्यारो र जिर्ण मानिएको पोखरेबगर चित्रे सडक स्तरोन्नती भएपछि शिख, घारका बासिन्दाका साथै घोडेपानी पुनहिल क्षेत्रको भ्रमणमा आउने स्वदेशी तथा बिदेशी पर्यटकलाई समेत सुबिधा पुग्ने अपेक्षा गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।

गाउँपालिकाको पहलमा गत चैत अन्तिम हप्ता घारमा शिख र घारका बासिन्दाहरुको भेला गरेर सडक स्तरोन्नतीका लागि आवश्यक जग्गा उपलब्ध गराउने सहमती गरिएको थियो । जग्गा बिवादका कारण करिब तिन वर्षसम्म आयोजना अन्यौलमा परेको थियो । अन्यौलमा परेको आयोजनाको जग्गा बिवाद समाधान भएपछि पुन सर्वेक्षण र डिपीआर स्विकृत गराउन सांसद भुपेन्द्र थापा र जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले मन्त्रालय तहमा पहल गर्नुभएको थियो ।

सन्तोष गौतम