बेगमा पदमार्ग निर्माण (फाटोफिचर )

  • २६ असार २०७५, मंगलवार
  • कमल खत्री
  • 4087 पटक पढिएको


म्याग्दी, २६ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा पदमार्ग निर्माण गरिएको छ । बेग–बाँदुक जोड्ने नेपालकै अग्लो र लामो झोलुङ्गे पुलदेखि बेगको देउराली पुग्ने बाटोमा पक्कि पदमार्ग निर्माण गरिएको हो । झोलुङ्गे पुल रहेको काउँले देखि ठुलो गाउँ हुँदै वडा कार्यालय रहेको देउरालीसम्म पदमार्ग निर्माण गर्ने योजना अन्र्तगत यस बर्ष ७ सय मिटर पक्की पदमार्ग निर्माण गरिएको वडा अध्यक्ष बिल बहादुर फगामीले जानकारी दिएका थिए ।


वडा कार्यालयले आर्थिक बर्ष २०७४÷०७५ को लागि गौरबको योजनाको रुपमा संचालन गरेको सो योजनामा गाउँपालिकाबाट रु ४८ लाख बजेट विनियोजन भएको थियो । सो बजेटबाट वडा कार्यालयले खोप केन्द्र भवन निर्माणमा रु २ लाख खर्च गरि स्थानीयबासीबाट श्रमदान समेत जुटाएर सो पदमार्ग निर्माण गरिएको वडा अध्यक्ष फगामीले बताउनुभयो ।
‘‘ पर्यटक भित्र्याउने लक्ष्य अनुरुप हामीले पुराना गोरेटोबाटोलाई आकर्षक पदमार्गमा रुपान्तरण गर्न लागेका हौँ, पदमार्गमा अझै थप कामहरु बाँकी छ, त्यसको लागि गाउँपालिका, प्रदेश सरकार र संघिय सरकारलाई बजेट व्यवस्थापनको लागि योजना माग गरेका छौँ’’–वडा अध्यक्ष फगामीले बताए ।


सिढीँ चिनेर ढलान गरिएको सो पदमार्गमा रेलिङ निर्माण गर्ने योजना छ । यसै बर्ष गाउँपालिकाबाट विनियोजन भएको रु ४ लाख ५० हजार बजेटबाट लामो झोलुङ्गे पुलको बाँदुक तर्फको भागमा ६० मिटर रेलिङ निर्माण गरिएको छ । नेपालकै लामो पुल भएकाले आन्तरिक तथा बाह्य पर्यटकहरु भम्रणमा आउने भएकाले सो क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पदमार्ग, चौतारी, खानेपानीको धारा, प्रतिक्षालय लगायतका पूर्वाधारहरु समेत निर्माण गर्न सुरु भएको छ ।
अहिले झोलुङ्गे पुलको छेवैमा स्थानीय महेन्द्र, बलसिङ, डिलप्रसाद र दिलबहादुर फगामीका ४ दाजुभाईले पर्यटकहरुको लागि व्यक्तिगत लगानीमै चौतारा निर्माण गरिसकेका छन भने प्रतिक्षालय र खानेपानी सुविधाको बन्दोबस्तको काम समेत गरिरहेका छन् । त्यसैगरि पदमार्गको बिचमा स्थानीय स्वर्गीय हिमलाल गर्वुजाको स्मृतिमा उनले घरपरिवारले चौतारा निर्माण गरेका छन् भने सोही ठाउँमा लोकबहादुर फगामीले प्रतिक्षालय निर्माण गरेको वडा अध्यक्ष फगामीले जानकारी दिए । तस्विर  धिरन खत्री

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l