धवलागिरीका दुर्गम गाउँ बस्तीमा सडक सञ्जालको पहुँच
- ७ असार २०८३, आईतवार
- 3 पटक पढिएको
कमल खत्री
म्याग्दी ७ असार । अग्ला–अग्ला भिरपाखा । कठिन पहाडी भूगोल । विकासको आधारभूत सुविधा नभएका बस्तीहरू। एक गाउँबाट अर्को गाउँ पुग्न घण्टौँसम्म उकालो–ओरालो हिँड्नुपर्ने बाध्यता। विगतका बर्षहरुमा म्याग्दीको धवलागिरी गाउँपालिकाको चिनारी यस्तै दुर्गम र विकट भूगोलको संघर्षका कथाहरुबाट हुने गथ्र्यो । तर समयसँगै त्यो चित्र फेरिँदै गएको छ। सडक पूर्वाधारको विस्तारसँगै धवलागिरीका दुर्गम गाउँबस्तीहरूमा विकासका सुविधा उक्लन थालेका छन् ।
सडक यातायातको क्षेत्रमा गाउँपालिकाले हासिल गरेको उपलब्धिले वर्षौँदेखि दुर्गम र विकटताको पहिचान बोकेका बस्तीहरूलाई क्रमशः सहज पहुँचको सुविधामा ल्याउन थालेको छ। धवलागिरी गाउँपालिकाको वडा नम्बर १ गुर्जामा सडक सञ्जालको पहुँच पुगेसंगै म्याग्दीका ४५ वटै वडाहरुमा सडक सञ्जालको पहुँच विस्तार भएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।

‘‘ यो बर्ष मात्रै गुर्जामा सडकको पहुँच पु¥याउन सफल भयौँ, अब यसलाई स्तरोन्नती गरेर नियमित सञ्चालन हुने सडक बनाउनेतर्फ पहल थालेका छाँै, सडक निर्माणले स्थानीयलाई यातयातको सुविधा दिएको छ, संगै गाउँमा हुने कृषि र पशुजन्य उत्पादनको बजारीकरणमा समेत सघाउने विश्वास लिएका छौँ’’–अध्यक्ष पुनले भन्नुभयो । वि.स. २०७९ सालमा भएको स्थानीय तह निर्वाचन सम्म मुना र खोरियाको बिचमा पर्ने मतलाको अक्करे भिरमा रोकिएको सडकलाई गाउँपालिकाले प्राथमिकताका साथ अघि बढाएर लुलाङ हुँदै गुर्जामा सडक पुगेको हो ।
प्रदेश र संघीय सरकारका साथै गाउँपालिकाबाट प्राथमिकताका साथ बजेट विनियोजन भएपछि वडा नम्बर २ लुलाङदेखि गुर्जासम्मको करिब २२ किलोमिटर लामो सडकको ट्याक निर्माणले पुर्णता पाएको गाउँपालिका अध्यक्ष पुनले जानकारी दिनुभयो । आर्थिक बर्ष २०८०÷०८१ देखि लुलाङबाट गुर्जा जोड्ने सडक निर्माण सुरु भएको थियो । पहिलो बर्ष संघ, प्रदेश र स्थानीय सरकारको २÷२ करोड साझेदारीमा रु ६ करोड, दोस्रो बर्ष संघ र स्थानीय सरकारको ३५÷३५ लाख गरी रु ७० लाख र चालु आर्थिक बर्षमा संघीय सरकारको रु १ करोड ४० लाख तथा स्थानीय सरकारको रु ३५ लाख बजेट गरी कुल १ करोड ७५ लाख बजेटलाई ठेक्का मार्फत परिचालन गरेर गुर्जालाई सडक सञ्जालमा जोडिएको गाउँपालिकाले जनाएको छ ।
सडक सञ्जालको पहुँच नहुँदा गुर्जाबाट गाउँपालिकाको केन्द्र मुना आउँन सर्वसाधारणले एक दिनको पैदलयात्रा गर्नुपर्ने बाध्यता थियो । अहिले सडक सुविधाले पालिकाको सेवा लिन गाउँपालिका आएका नागरिक एकैदिनमा घर फर्कन सक्ने सुविधा भएको छ । गुर्जा जोड्ने सडकमा पर्ने लमसुङस्थित दरखोलामा प्रदेश सरकारले २५ मिटर लामो मोटरेबल पुल निर्माण सुरु गरेको छ । गाउँपालिकाभित्र पछिल्लो चार बर्षको अवधिमा भएका भौतिक पूर्वाधारमध्ये सडक सञ्जालको पहुँच निर्माण सबैभन्दा ठूलो उपलब्धिको रुपमा रहेको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले जानकारी दिनुभयो । उहाँका अनुसार, यस अवधिमा महतलाको भिरमा रोकिएको सडक लमसुङ, लुलाङ हुँदै गुर्जा, मरेनीदेखि पर्यटकीय स्थल जलजला–गुर्जाघाट हुँदै ढोरपाटन सडक सञ्जालमा जोडिएका छन् । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प र म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाको ‘लाइफलाइन’ मानिएको बेनी–दरवाङ–मुना–जलजला– ढोरपाटन सडक काठमाडौँ र पोखराबाट बेनी हुँदै ढोरपाटन र पूर्वी रुकुम जोड्ने छोटो दुरीको सडक पनि हो ।

चालु आर्थिक वर्षमा संघीय सरकारले विनियोजन गरेको रु पाँच करोड बजेटबाट सडक डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको योजनामार्फत म्याग्दीको धवलागिरि –२ मरेनीदेखि ढोरपाटनको जलजलासम्म सडकको ट्याक निर्माण भएको हो । वडा नम्बर ४ मुदीमा निर्माणधिन जलविद्युत आयोजनाहरु मार्फत खिबाङ, बगर, दोभान, चेचुङ लगायतका बस्तीमा सडक सञ्जालको पहुँच पुगेको छ भने नेरवाङ बस्तीमा सडक विस्तार भइरहेको छ ।‘‘ हामी निर्वाचनमा होमिदा अधिकाँश बस्तीमा पैदल नै हिँडेर भोट मागेका थियौँ, हामीले नागरिकसामु सडकलाई मुख्य प्राथमिकता दिएर काम गर्ने बाचा गरेका थियौँ, आज अधिकाँश बस्तीमा सडक पुगेको छ, अब ति सडकहरुमा नियमित रुपमा बाह्रै महिना सवारी साधन सञ्चालनमा आउने गरी स्तरोन्नती गर्ने अभियानको थालनी गर्नुपर्ने जिम्मेवारी बढेको छ, यसको लागि पालिकाले संघीय र प्रदेश सरकारहरुसंग पनि आबश्यक योजना माग गरेको छ’’– उपाध्यक्ष पुनले भन्नुभयो ।
मुदीको बगर फेदीबाट सिंकोस बगरमा र मल्कबाङदेखि भेडिखाल्टा बस्तीमा सडक सञ्जालको पहुँच पु¥याउन बाँकी रहेको छ । चालु आर्थिक बर्षमा गाउँपालिकाबाट विनियोजन भएको रु ३० लाख बजेटबाट सडकको ट्याक निर्माण भएपनि भेटिखाल्टामा सडकको ट्याक जोडिएको छैन् । पालिकाले माग गरे बमोजिम संघीय सरकारबाट आगामी बर्षका लागि संघीय समपुरक कोष अन्तर्गत रु ८५ लाख बजेट विनियोजन भएकाले आगामी बर्ष भेडिखाल्टामा सडकको पहुँच पुग्ने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । पहाडी जटिल भूगोलको चुनौतिका बिष् यस वर्ष धवलागिरीका अधिकांश गाउँबस्तीमा सडक सञ्जालको पहुँच विस्तार हुनुले यस पालिकाका स्थानीयमा विकासप्रतिको सकरात्मक धारणाको विकास गराएको छ । पहिले पैदल यात्रामा निर्भर रहनुपर्ने स्थानीय अहिले गाउँसम्मै सडक पुगेपछि दैनिक जीवन, कृषि उत्पादनको ढुवानी, स्वास्थ्य सेवा तथा शिक्षाजस्ता आधारभूत सेवामा सहजता अनुभव गर्न थालेका छन्। सडक पुगेसँगै दुर्गम बस्तीहरू विकास र समृद्धिको मूलधारसँग जोडिने क्रमले गति लिएको छ। कुनै समय दुर्गमताको पर्याय मानिने धवलागिरीमा आज सडक सञ्जाल विस्तारमार्फत सर्वसाधारणलाई परिवर्तनको आभास दिलाएको छ। गाउँ–गाउँमा पुगेको सडकले स्थानीयको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनुका साथै विकासका सम्भावनाका नयाँ ढोका पनि खोलिदिएको छ।
दरवाङ–मुना सडक स्तरीय बन्दै
धवलागिरी गाउँपालिकाको लाइफलाइन मानिएको दरवाङ–मुना स्तरोन्नतीको काम भइरहेको छ । दरबाङदेखि धारापानी सम्मको सडक ग्राभेल सहित स्तरोन्नती भएको छ । मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–धारापानी–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत धारापानीदेखि झिनडाडा खण्डमा गण्डकी प्रदेश सरकार मार्फत सडक ढलान, कालोपत्र र ग्राभेल गर्ने काम भइरहेको छ । यस योजना मार्फत वडा नम्बर ७ ताकममा गाउँपालिकामै पहिलो पटक सडक कालोपत्र गरिएको छ ।
छ किलोमिटर दूरीमा स्तरोन्नतिका लागि सञ्चालित आयोजना सम्पन्न हुुने चरणमा छ । यो म्याग्दीको रणनीतिक महत्वको र प्राथमिकता प्राप्त सडक आयोजना हो । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०८१ जेठ २० गते रामसागर बिके एस केबीएस धौलागिरी जेभीले रु १४ करोड ६१ लाखमा पूर्वाधार विकास कार्यालय म्याग्दीसँग ठेक्का सम्झौता गरेको थियो । यस योजना अन्तर्गत अप्ठ्यारो ठाउँमा ढलान भएको छ । सडकलाई आठ मिटर फरालिको बनाउने, नाली र पर्खाल निर्माण गरिएको छ । यो सडक आयोजना अन्तर्गत दरवाङ–धारापानी (सात किलोमिटर) र मच्छिम–मुना (चार किलोमिटर) अक्सफाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न रु ५८ करोड ८० लाख ५३ हजारमा ठेक्का सम्झौता भएको अर्को योजना पनि निर्माण सुरु भएको छ । गत बर्षको असारमा सम्झौता भएको यस योजनाको ठेक्का अवधि २७ महिनाको रहेको छ । यि दुई आयोजना निर्माण सम्पन्न भएमा गाउँपालिकाको केन्द्र मुना सम्मको सडक स्तरीय बन्ने छ ।
(धवलागिरी गाउँपालिकाको मिडिया फलोसिप लेखनको सहयोगमा तयार गरिएको सामाग्री)