बेनीको सडकमा गरिएको कालोपत्रे एक हप्तामै उक्कीन थाल्यो

  • २३ जेष्ठ २०७५, बुधबार
  • 2669 पटक पढिएको

बेनी २३ जेठ । म्याग्दीको सदरमुकाम बेनी बजारको सडकमा गरिएको कालोपत्रे (पिच) एक हप्ता नपुग्दै उक्कीन थालेको छ । उपभोक्ता समितिको लापरबाही, सम्बन्धित कार्यालयका कर्मचारीको निगरानी र जनप्रनिधिहरुले अनुगमन नगर्दा कम गुणस्तरको निर्माण सामाग्रीको प्रयोग भएकाले कालोपत्रे उक्कीन थालेको बजारबासीले बताएका छन् ।

बेनपा ७ बालमन्दिर चोकका रामबहादुर बानियाले कालोपत्रे गरीएको सडक तिन दिनमै उक्कीन थालेको बताउनुभयो । उपभोक्ता समितिबाट काम गर्ने जिम्मेवारी लिएका ब्यवसायीले मापदण्ड र गुणस्तर अनुसारको निर्माण सामाग्री प्रयोग नगरेकाले कालोपत्रे उक्कीन थालेको बानियाले बताउनुभयो ।

बालमन्दिर चोक र गणेशटोल क्षेत्रमा गरिएको कालोपत्रे उक्कीएको छ । बेनी नगरपालीकाले ७ र ८ नम्बर वडामा पर्ने बजार क्षेत्रमा खाल्डाखुल्डी परेको सडक मर्मतका लागि यस वर्ष दुई वटा शिर्षकमा सोह् लाख रुपैया बिनियोजन गरेको थियो । ७ र ८ नम्बर वडामा फरक फरक उपभोक्ता समितिले सम्झौता गरेपनी उनिहरुले व्यवासयीलाई काम गर्न ठेक्कामा दिएका छन् ।

बेनी नगर कार्यपालीकाका प्रवत्ता समेत रहनुभएका ८ नम्बर वडाका अध्यक्ष रामकृष्ण बराईलीले अनुगमन गरेर गुणस्तर र मापदण्ड अनुसारको काम नगरे भुक्तानी रोकिने बताउनुभयो । नगरपालीकाका ईञ्जिनियर बिमलरञ्जन कार्कीले निर्माण सामाग्री राखेपछि सेट नभएकाले कालोपत्रे उक्कीएको बताउनुभयो ।

कालोपत्रे गर्ने उपकरण काम गर्दा गर्दै बिग्रीएपछि सेट गर्ने काम बाँकी रहेको र सो कामलाई पूर्णता दिन बुधबार काम गरेको ईञ्जिनियर कार्कीले बताउनुभयो । यसैबीच बेनी गलेश्वर सडकमा गत फागुनमा गरीएको कालोपत्रे समेत उक्किन थालेको स्थानीयबासी मनबहादुर चर्माकारले बताउनुभयो ।

सडक डिभिजन कार्यालय बागलुङ तिन वर्ष लगाएर गत फागुनमा बेनी देखि गलेश्वर जोड्ने तिन किलोमिटर मध्य दुई किलोमिटर सडक कालोपत्रे गरेको थियो । यस्तै बेनी नगरपालीकाले बेनी अर्थुङ्गे पात्लेखेत सडक कालोपत्रेको काम सुरु गरेको छ ।

यसअघि बेनी देखि महारानी थानसम्म पुगेको कालोपत्रेलाई अघि बढाउन लागिएको हो । सडकमा सवारी रोकेर स्तरोन्नती गरिएको छ । साढे दुई सय मिटर कालोत्रपे, ढलानका साथै तोरीपानी देखि वाखेत स्थित झिँको सिमानासम्म सडक फराकीलो बनाइएको छ ।