माओवादी केन्द्र मंगला गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न

  • १७ फाल्गुन २०७३, मंगलवार
  • 1978 पटक पढिएको

म्याग्दी, १६ फागुन ।  नेकपा माओवादी केन्द्र म्याग्दीले जिल्लामा प्रस्तावित गाउँपालिकाहरुमा पार्टीको संगठन निर्माण गर्न थालेको छ । अभियान अन्र्तगत सोमबार मंगला गाउँपालिकाको प्रथम सम्मेलन बावियाचौरमा सम्पन्न गरेको छ । सम्मेलनले चन्द्रप्रसाद बुढाथोकिको अध्यक्षतामा ४५ सदस्यीय नेकपा माओवादी केन्द्र मंगला गाउँपालिका समिति निर्वाचित गरेको छ । कृष्णलाल सापकोटाको संयोजकत्वको निर्वाचन मण्डलले सर्वसम्मत रुपमा गाउँपालिका समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा यामकुमारी पुन, सचिबमा मोहनलाल सापकोटा, कोषाध्यक्षमा मनबहादुर मगर र सहसचिबमा कुलप्रसाद पुन लगायत चयन हुनुभएको छ । चन्द्रप्रसाद बुढाथोकिको अध्यक्षतामा सम्पन्न सम्मेलनलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा जिल्ला संयोजक गोविन्द पौडेलले माओवादीको एजेण्डा अनुसार मुलुक संघिय संरचनामा जान लागेको भन्दै यसको कार्यान्वयनको लागि आगामी स्थानीय निर्वाचनमा माओवादीलाई बिजयी गराउनुपर्ने बताउनुभयो ।

उहाँले संघियता, धर्मनिरपेक्षता, समानुपातीक समावेशी, अल्पसंख्यकहरुलाई बिशेष अधिकार जस्ता निती माओवादीको भएकाले ति नितीको कार्यान्वयन माओवादी नेतृत्वले मात्रै गर्न सक्ने बताउनुभयो । उहाँले माओवादी नेतृत्वको वर्तमान सरकारले म्याग्दी जिल्लाको विकासमा उल्लेख्य बजेट विनीयोजन गरेको भन्दै ति योजनाहरु कार्यान्वयन गर्न सके जिल्लाको विकास निर्माणले मुहार फेर्ने बताउँदै आगामी दिनमा समेत जिल्लाको विकास निर्माणको लागि माअ‍ोवादी केन्द्र प्रतिबद्ध रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा कार्यक्रममा शिक्षक संगठनका सचिब होमनाथ पाण्डे, अखिल (क्रान्तिकारी)को तर्फबाट म्याग्दी क्याम्पसमा स्ववियु अध्यक्ष पदका उमेदवार बनेका सुदिन पौडेल, मंगला शिक्षा क्याम्पसमा उमेदवार बनेकी कुसुम पाण्डे, यामकुमारी पुन लगायतले मन्तव्य राख्नुभएको थियो । पुनम खड्काको सञ्चालन र हुमनाथ पाण्डेको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैबिच नेकपा माओवादी केन्द्र मंगला गाउँपालिका समितिको नवनिर्वाचित समितिको पहिलो बैठक सम्पन्न भएको छ । समितीका जेष्ठ सदस्य यामकुमारी पुनको अध्यक्षतामा बसेको बैठकले आगामी स्थानीय चुनाबमा पार्टीका उमेदवारहरुलाई बिजयी गराउन संगठन निर्माण तथा विभिन्न निर्वाचन केन्द्रित अभियान सञ्चालन गर्ने निर्णइ गरेको छ ।