दुर्गम गाउँ कुइनेखानीमा भाेट माग्न पुग्न सकेनन् उम्मेदवार
- २० फाल्गुन २०८२, बुधबार
- 1 पटक पढिएको
म्याग्दीको रघुगंगा गाउँपालिका– ८ कुइनेखानी गाउँमा प्रतिनिधि सभा सदस्यका कोही पनि उम्मेदवार भोट माग्न पुगेका छैनन् । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता पछि चुनाब प्रचार प्रसारका लागि निर्वाचन आयोगले निर्धारण गरेको फागुन १८ गतेसम्म गाउँमा कुनै पनि उम्मेदवार भोट माग्न नआएको स्थानीयबासीले बताएका छन् ।
यस पटकको निर्वाचनमा गाउँमा कोही पनि उम्मेदवार भोट माग्न नआएको स्थानीयबासी समेत रहनुभएका वडा सदस्य च बहादुर छन्त्यालले बताउनुभयो । ‘‘ दुरीको हिसाबले टाढा भएर होला कोही पनि उम्मेदवार आफै भोट माग्न गाउँमा आउनुभएन, पार्टीका नेता तथा कार्यकर्ताहरु भने घरदैलो गर्न आउनुभएको थियो’’– वडा सदस्य छन्त्यालले भन्नुभयो । रघुगंगा गाउँपालिका– ८ नम्बर वडामा पर्ने कुइनेखानी गाउँमा करिब ९० घरधुरीको बसोबास रहेको छ ।
निर्वाचनको लागि यस गाउँमा एक मतदान केन्द्र रहेको छ भने यहाँ ३३० मतदाता रहेका छन् । म्याग्दीमा सडक सञ्जालको पहुँच नपुगेको धवलागिरी गाउँपालिका– १ गुर्जामा समेत एक जना मात्रै उम्मेदवार भोट माग्न पुगेको भेटिएको छ । एक वडामा एउटै मात्र बस्ती रहेको गुर्जामा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अर्जुन थापा चुनाबी सभा गर्न पुगेपनि अन्य उम्मेदवारहरु भोट माग्न नआएको स्थानीयबासीले बताएका छन् । गुर्जामा ७४१ मतदाता रहेका छन् । गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले गाउँमा नेकपाका उम्मेदवार बाहेक अन्य उम्मेदवार भोट माग्न नआएको र पार्टीका प्रतिनिधिहरु घरदैलो अभियान लिएर मतदाता भेटघाट गरी फर्किएको बताउनुभयो ।
चुनाब प्रचार प्रसारको समय कम भएको र भौगोलिक रुपमा विकटता रहेकाले सबै गाउँ बस्तीमा मतदाता भेटघाग गर्न सम्भव नभएको उम्मेदवारहरुको भनाई छ । एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा एक स्वतन्त्र सहित १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जिल्लामा ४२ हजार तीन सय ३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एक जना अन्य गरी कुल ८६ हजार तीन सय ९७ मतदाता छन् । यसैबिच म्याग्दीको ग्रामीण भेगबाट अस्थायी रुपमा शहरी क्षेत्रमा बसोबास गर्नेहरु मतदानका लागि गृहगाउँ फर्किन थालेका छन् । अध्ययन, रोजगार र व्यापार व्यवसाय लगायतको सिलशिलामा बेनी, पोखरा, काठमाण्डौ लगायतका शहरी क्षेत्रमा बसोबास गर्नेहरु मतदानका लागि आफ्नो गाउँ फर्कन थालेपछि गाउँमा जमघट बढेको छ ।