म्याग्दीमा मतदानको लागि सम्पूर्ण तयारी पूरा
- २० फाल्गुन २०८२, बुधबार
- 25 पटक पढिएको
म्याग्दी , २० फागुन । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा सम्पूर्ण तयारी पूरा भएको छ । मतदान कार्य सम्पन्न गराउनका लागि जिल्लाका सबै मतदान केन्द्रमा पुगेका निर्वाचन कर्मचारीले मतदान पूर्वका सम्पूर्ण काम सम्पन्न गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा रहेका सबै मतदान केन्द्रमा आबश्यक पर्ने निर्वाचन सामाग्री सहित कर्मचारी र सुरक्षाकर्मीको जनशक्ति परिचालन गरिएको र मतदान पूर्वका सम्पूर्ण काम सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।
निर्वाचनका लागि मतदान स्थलमा पुगेका मतदान अधिकृत सहितको टोलीले मतदान केन्द्रमा बुथ निर्माण गरी शान्त र सुरक्षित तवरले मतदानको उचित वातावरण बनाउनेमा जुटेका छन् । निर्वाचन सम्पन्न गराउनका लागि सुरक्षाकर्मी र अनुगमनकर्ता बाहेक मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारी र स्वयंसेवक गरी जिल्लामा १ हजार ७४ जना कर्मचारी परिचालन गरिएको छ । एक नगरपालिका र पाँच गाउँपालिका रहेको यस जिल्लामा मतदानका लागि ८२ वटा मतदान स्थलमा १२० स्थायी मतदान केन्द्र र २ अस्थायी मतदान केन्द्र निर्वाचरण गरिएको छ ।
मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी दुईसय ४४ जना मतदान अधिकृत छनौट हुँदा ३९ जना महिला छनौट भएका छन् । ति मध्य १५ जना महिला मतदान अधिकृतका रुपमा छनौंट हुनुभएको छ भने २४ जनालाई सहायक मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । बेनी स्थित बेनी सामुदायिक माध्यमिक विद्यालयको मतदान स्थलको एक मतदान केन्द्रमा सम्पूर्ण निर्वाचन कर्मचारीमा महिलालाई मात्र परिचालन गरिएको छ ।
निर्वाचनलाई शान्त, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि मतदान केन्द्रहरुको अनुगमन गरी निर्वाचन लक्षित एकिकृत जिल्ला सुरक्षा रणनीति लागू गरिएको प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार, निर्वाचन कर्मचारी मतदान केन्द्रमा खेटिएदेखि नै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसधान विभागको समेत सहयोग र निर्वाचन प्रहरी समेतलाई निर्वाचन सुरक्षामा परिचालन गरिएको छ । ‘‘ निर्वाचनमा मतदाता, उम्मेदवार, मतपत्रलगायत निर्वाचन सामाग्री, कर्मचारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता लगायत सम्पूर्ण पक्षको सुरक्षालाई ध्यानमा राखेर सुरक्षा रणनीतिलाई लागू गरिएको छ ।
मतदान स्थलमा पुगेका कर्मचारीहरुले मतदान निर्देशिका बमोजिम आबश्यक कृयाकलाप र तयारी गरिरहेको र मतदानको गोपनीयतालाई समेत सम्पूर्ण रुपमा कायम गरिएकाले सबै नागरिकहरुलाई मतदानमा सहभागी भएर आफ्नो मत हाल्न अनुरोध गरिएको जिल्ला निर्वाचन अधिकारी बिमल प्रसाद गौतमले जानकारी दिनुभयो। प्रतिनिधिसभामा १ निर्वाचन क्षेत्र रहेको यस जिल्लामा १ जना स्वतन्त्र सहित १२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन । निर्वाचनका लागि ८६ हजार ३९७ मतदाता कायम रहेका छन् । 