धवलागिरीबाट पहिलो संघीय सांसद बन्ने दौडमा नेकपाका अर्जुन थापा
- १८ फाल्गुन २०८२, सोमबार
- 1 पटक पढिएको
बेनी, १८ फागुन । म्याग्दीका छ वटा स्थानीय तह मध्य भौगोलिक हिसाबले संघीय संसदमा प्रतिनिधित्व गर्ने अवसर नपाएको धवलागिरी गाउँपालिका रहेको छ । पञ्चायत देखि गणतन्त्र सम्म आइपुग्दा म्याग्दीका अन्य पाँच वटा स्थानीय तहले संघीय संसदमा आफ्ना प्रतिनिधी पठाएको छ । धवलागिरिबाट यसपाली नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा प्रमुख राजनीतिक दलबाट सम्भवत पहिलो उमेद्वार बनेका धवलागिरी गाउँपालिका–७ मा रहेको हेम माविमा करिब चार दशक शिक्षण गरेर हालै सेवा निवृत्त हुनुभएका ताकमका पुर्व शिक्षक ठाकुर पौडेलले बताउनुभयो ।
“प्रमुख राजनीतिक दलहरुबाट सम्भवत पहिलो पटक अर्जुन थापा प्रतिनिधीसभा सदस्यको उमेद्वार बनेका हुन,” उहाँले भन्नुभयो “सदरमुकाम देखि टाढा भएर विकासमा पछाडी परेको धवलागिरीलाई केन्द्रिय राजनीतिमा पहुँच बनाउनका लागि यो महत्वपूर्ण अवसर हो ।” नेपाली कम्युनिष्ट पार्टीबाट फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनमा उमेद्वार बनेका ४१ वर्षीय थापा धवलागिरी गाउँपालिका–७ धारापानीका बासिन्दा हुनुहुन्छ । सात वटा वडा रहेको धवलागिरी गाउँपालिकामा साविकका गुर्जा, लुलाङ, मुना, मुदी, मल्कवाङ, मराङ र ताकम गाविस समेटिएको छ । पञ्चायतकाल देखि वि.स. २०७९ सम्म भएका १६ वटा निर्वाचनबाट समानुपातिक सहित १६ जना संघीय सांसद निर्वाचित हुनुभएको छ ।
वि.स. २०३८ र २०४३मा राप्रपाबाट रघुगंगा गाउँपालिका ६ पाखापानीका भिमप्रसाद गौचन, २०४५ को मध्यावधी निर्वाचनमा काँग्रेसबाट मंगला गाउँपालिका–१ कुहुँका नरबहादुर पुन, वि.स. २०४८ मा म्याग्दी क्षेत्र (१)मा एमालेबाट रघुगंगा गाउँपालिका ७ चिमखोलाकी थममाया थापा र २ मा बेनपा ५ भिरमुनीका चन्द्रप्रकाश बानिया निर्वाचित हुनुभएको थियो । वि.स. २०५१ मा एमालेबाट अन्नपूर्ण गाउँपालिका–८ राम्चेका निल तिलिजा, २०५६ मा काँग्रेसबाट अन्नपूर्ण गाउँपालिका ५ शिखका नारायणसिंह पुन र वि.स. २०६३ को अन्तरिम संसदमा तत्कालीन माओवादीबाट मंगला गाउँपालिका–३ बरंजाका गमबहादुर श्रीस अन्तरिम बिधायक बन्नुभएको थियो । वि.स. २०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा माओवादीबाट बेनपा–६ अर्थुङ्गेका गोविन्द पौडेल निर्वाचित हुदाँ समानुपातिक तर्फ माओवादीबाट बरंजाका श्रीस र एमालेबाट चिमखोलाकी थापा संविधानसभा सदस्य निर्वाचित हुनुभएको थियो । वि.स. २०७० को संविधानसभाको दोस्रो निर्वाचनमा एमालेबाट मालिका गाउँपालिका–७ बिमका नवराज शर्मा निर्वाचित हुँदा समानुपातिक तर्फ एमालेबाट मंगला गाउँपालिका–१ कुहुँकी नरदेवी पुन र काँग्रेसबाट बेनीका रेशमबहादुर बानिया राष्ट्रपतिबाट संविधानसभा सदस्यमा मनोनित हुनुभएको थियो । वि.स. २०७४ को प्रतिनिधीसभा सदस्य निर्वाचनमा एमालेबाट बेनी नगरपालिका–१ रत्नेचौरका भुपेन्द्रबहादुर थापा निर्वाचित हुँदा एमालेकै चिमखोलाकी थममाया थापा समानुपातिक तर्फबाट सांसद भई तीन वर्ष संघीय सरकारको महिला, बालबालिका तथा समाजकल्याणमन्त्रीको जिम्मेवारी पाउनुभएको थियो ।
वि.स. २०७९ मा काँग्रेसबाट रघुगंगा गाउँपालिका–४ दग्नामका खमबहादुर गर्बुजा प्रतिनिधीसभा सदस्यमा निर्वाचित भई तीन महिना उर्जा, जलस्रोत तथा सिचाई राज्यमन्त्री बन्नुभएको थियो । पञ्चायतकालमा भिमप्रसाद गौचन पनि राज्यमन्त्री बन्नुभएको थियो । आसन्न निर्वाचनमा म्याग्दीमा रहेका १२ मध्य एमालेका हरिकृष्ण श्रेष्ठ, काँग्रेसका कर्णबहादुर भण्डारी, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा र स्वतन्त्र उमेद्वार महाविर पुन मुख्य प्रतिस्पर्धीका रुपमा देखिनुभएको छ । श्रेष्ठ बेनी र भण्डारी रघुगंगाबासी हुनुहुन्छ । अन्नपूर्ण गाउँपालिका–८ नागीमा जन्मनुभएका पुनको हालको स्थायी बसोबास चितवन रहेको छ । अर्जुन थापा धवलागिरी गाउँपालिका मात्र नभएर भेगिए हिसाबले मंगला र मालिका गाउँपालिकाको पनि साझा उमेद्वार भएको नेपाली कम्युनिष्ट पार्टी धवलागिरीका अध्यक्ष रिमप्रकाश थापाले बताउनुभयो । धवलागिरीबासीका लागि थापाको उमेद्वारी आफ्नो भुगोललाई संघीय संसदमा प्रतिनिधित्व गराउने महत्वपूर्ण अवसर भएको उहाँको भनाई छ ।
श्रम संस्कृति पार्टीका बिनोद राना मालिका गाउँपालिका–५ देविस्थान र राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्मा मालिका गाउँपालिका–६ दरवाङ निवासी हुनुहुन्छ । प्रमुख मानिएका एमाले, काँग्रेस, माओवादी, रास्वपा, राप्रपाले धवलागिरीबाट यसअघि संघीय उमेद्वार बनाएका थिएनन् । वि.स. २०५६ देखि विद्यार्थी संगठनबाट निरन्तर राजनीतिमा क्रियाशिल नेकपाका उमेद्वार थापा संघीय सरकार, राष्ट्रिय योजना आयोग र विभिन्न मन्त्रालयहरुमा नेपाली कम्युनिष्ट पार्टीको नेतृत्व हुँदा मन्त्रालय तथा मातहतका निकायहरुमा जिल्लाको मागहरुलाई पु¥याउन पुलको भूमिका निर्वाह गर्दै आउनुभएको छ । स्वतन्त्र रक्तदाताहरुको समूहको नेतृत्व गरेर बिरामीहरुको जिवन बचाउने, वैदेशिक रोजगार पिडितहरुको न्यायका लागि निरन्तर पैरवी, आर्थिक अभावका कारण समस्यामा परेका बिरामीहरुको उपचार, गरिव बिपन्न विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिको ब्यवस्था मिलाउन र आफै अक्षयकोष स्थापना गरेर पछिल्लो तीन वर्षयता धवलागिरी गाउँपालिकामा वार्षिक तीन सय भन्दा बढी विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेर सामाजिक क्षेत्रमा योगदान गर्नुभएको छ ।
चुनाव प्रचारको क्रममा म्याग्दीका ४५ वटै वडामा पुगेर फर्किएका थापाले सोमबार बेनीमा घरदैलो गरेर चुनावी अभियानको समापन गर्नुभएको छ । “म्याग्दीको सबै बस्तिमा पुग्दा जिल्लाबासीबाट पाएको सद्भाव र म प्रति गर्नुभएको विश्वासले उत्साही भएको छु,” उहाँले भन्नुभयो “कानुनमा म्याग्देलीका समस्या सम्बोधन गर्ने, योजना र बजेटमा म्याग्दी देखिने गरेर काम गर्ने प्रतिवद्धता जनाएको छु ।” संघीय कानुन, बजेट र योजना निर्माणमा म्याग्देली जनताको भावना, अपेक्षा र समस्याको सम्बोधन गराउन देशले म्याग्दीलाई सुन्ने र चिन्ने गरेर आवाज उठाउने थापाले बताउनुभयो । म्याग्दीले प्राप्त गरेको हिमाली जिल्लाको मान्यतालाई पूर्ण रुपमा कार्यान्वयन गराउन प्राथमिकता दिन नीतिगत पहल गर्ने थापाको जोड रहेको छ ।