करिब ६ दशकपछि संघीय प्रतिनिधित्व खोज्दै राखु
- १८ फाल्गुन २०८२, सोमबार
- 19 पटक पढिएको
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिकाको राखुले करिब ६ दशकपछी केन्द्रीय संसदमा प्रतिनिधित्व खोजेको छ । म्याग्दी जिल्लाको राजनीतिमा रघुगंगा गाउँपालिका– २ र ३ को भूगोलमा पर्ने राखुबाट नेतृत्वदायी पदमा पुगेपनि केन्द्रिय संसदमा पुग्ने अवसर बिरलैले मात्रै पाएका छन् । यस पटकको आम निर्वाचनमा नेपाली काँग्रेसबाट रघुगंगा गाउँपालिका– २ राखु भगवती निवासी कर्णबहादुर भण्डारी (केवी) प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्नुभएको छ ।
वि.स. २०२४ मा राखु मौवाफाँटका खडानन्द सुवेदीले राष्ट्रिय पन्चायत सदस्य जित्नुभएको थियो । सुवेदीले राष्ट्रिय पञ्चायत सदस्यमा जित हाँसिल गर्दा तत्कालिन समयमा राखु क्षेत्र मुस्ताङ जिल्लामा समावेश थियो । वि.स. २०३२ सालमा भएको प्रशासनिक हेरफेरमा राखुका ४ गाउँ पञ्चायत सहित १२ वटा गाउँ पञ्चायतलाई म्याग्दी जिल्लामा गाभिएपछि वि.स. २०३८ सालमा भएको राष्ट्रिय पञ्चायत निर्वाचनमा अञ्चलाधिस समेत रहनुभएका राखुका नन्दबहादुर मल्ल उम्मेदवार बनेपनि भिमप्रसाद गौचनसंग पराजित हुनुभएको थियो ।
जिल्लाको राजनीतिक रुपमा ठूलो योगदान दिएको राखुबाट बर्षौपछि संघीय प्रतिनिधिको रुपमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुले राखुबासीमा उत्साह छाएको राखुका अग्रज राजनीतिज्ञ समेत रहनुभएका ८५ बर्षिय पूर्व प्रधानपञ्च देबेन्द्रबहादुर मल्लले बताउनुभयो । ‘‘राखु हिजोदेखि नै राजनीतिमा चेतना भएको ठाउँ हो, जिल्ला र हालको प्रदेश सभामा यस क्षेत्रबाट जनप्रतिनिधि पठाउने अवसर मिलेपनि संघीय संसदमा बर्षौपछि उम्मेदवार पाएको हो, यो समग्र राखुबासी र रघुगंगाकै गौरवको बिषय हो’’– मल्लले भन्नुभयो ।
जिल्लाको मुख्य पार्टीमा नेकपा एमालेबाट राखु भगवनी निवासी देवेन्द्रबहादुर कटुवालले नेतृत्व सम्हालीसक्नुभएको छ । नेपाली काँग्रेसको बाहलवाला उपसभापतिमा काँग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत राखु भगवती निवासी भण्डारी रहनुभएको छ। नयाँ संविधान निर्माण संघीयता कार्यान्वयनपछि राखुबाट २०७४ सालमा प्रदेशसभा सदस्यमा नेपाली कम्युनिष्ट पार्टीका भगवती निवासी विनोद केसी र वि.स. २०७९ को निर्वाचनमा समेत नेकपाबाटै राखु भगवती निवासी हरिबहादुर भण्डारी निर्वाचित हुनुभएको छ । नयाँ संविधान जारी गरेपछि भएको पहिलो स्थानीय तह निर्वाचनबाट जिल्ला समन्वय समितिको प्रमुखमा भगवती निवासी देवेन्द्रबहादुर कटुवाल र रघुगंगगा गाउँपालिकाको लगातार दुई कार्यकालको नेतृत्वमा राखु भगवती निवासी भवबहादुर भण्डारी निर्वाचित भइसक्नुभएको छ ।
म्याग्दीमा भएका चुनाबी प्रतिस्पर्धालाई नियाल्ने हो भने वि.स. २०३८ मा आम निर्वाचनमा राखुका नन्दबहादुर मल्ल र शिखका हरिबहादुर पुनलाई पराजीत गर्दै पाखापानीका भिमप्रसाद गौचनले बाजी मार्नुभएको थियो । २०४३ मा पनि बेनीका भुपेन्द्र खड्का र शिखका हरि बहादुर पुनलाई पराजीत गर्दै गौचन पुन राष्ट्रिय पञ्चायत सदस्य बन्न सफल हुनुभएको थियो । तर २०४४ को उपचुनाबमा कुहुँका नरबहादुर पुन मगरले घतानका रुद्रबहादुर केसीलाई पराजित गर्दै निर्वाचित हुनुभएको थियो । म्याग्दीमा २०४८ को आम चुनावमा २ क्षेत्र कायम रहेकामा १ नम्बरमा नेपाली काँग्रेसका डाक्टर भुपेन्द्र खड्का (बेनी)लाई हराउँदै नेकपा एमालेबाट चिमखोलाकी थममाया गर्बुजा थापामगर र २ नम्बर निर्वाचन क्षेत्रमा काँग्रेसका गोपालनारायण भट्टचन (बेनी)लाई हराउँदै एमालेका पुला भिरमुनीका चन्द्रप्रकाश बानियाँ बिजयी हुनुभएको थियो ।
२०५१ को मध्यावधि निर्वाचनमा भने एमालेका राम्चेका निलबहादुर तिलिजा पुन मगरले पाखापानीका राप्रपाका भिमप्रसाद गौचनलाई हराउनुभएको थियो । २०५६ को चुनावमा भने एमाले विभाजन भै माले एमाले भएको अवस्थामा नेपाली काँग्रेसबाट शिखका नारायणसिंह पुन मगर बिजयी हुँदा एमालेबाट उम्मेदवार बन्नुभएकी कुहुँ भरजुलाकी नरदेवी पुनले कडा प्रतिस्पर्धा गर्नुभएको थियो । माओवादी सशस्त्र संघर्ष र २०६२/०६३ को जनआन्दोलनपछि वि.स. २०६४ सालमा भएको संविधान सभा निर्वाचनमा भने माओवादीले अत्यधिक मतले २३ हजार १०२ ल्याएर पुलाचौरका गोविन्द पौडेल बिजयी हुँदा कुुहुँ भरजुलाकी एमालेकी नरदेवी पुनले १४ हजार ४५४ मत ल्याउनुभएको थियो भने तेस्रो काँग्रेसका बेनीका रेशम बानियाँले ७ हजार ६२६ मत ल्याउनुभएको थियो ।
२०७० को दोस्रो संविधान सभा सद्स्यको निर्वाचनमा एमालेका बिमका नवराज शर्माले दग्नाम निवासी काङ्ग्रेसका खमबिर गर्बुजालाई हराउनुभएको थियो । शर्माले १५ हजार ९५५ मत र गर्बुजाले १२ हजार ५०९ मत ल्याउनुभएको थियो । संविधान घोषणापछीको २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने एमाले माओवादी गठबन्धनबाट एमालेका रत्नेचौरका भुपेन्द्रबहादुर थापाले काँग्रेसका गर्बुजालाई पराजीत गर्नुभएको थियो। थापाले २३ हजार ३०८ र गर्बुजाले २० हजार ९८० मत ल्याउनुभएको थियो । २०७९ को चुनावस काङ्ग्रेस र माओवादी मिलेर दग्नामका खमबिर गर्बुजाले जित हात पारेका थिए ।
गर्बुजाले २४ हजार २१ मत ल्याउँदा एमालेका बेनीका हरिकृष्ण श्रेष्ठले २० हजार १८९ मत ल्याउनुभएको थियो । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा म्याग्दीमा एक स्वतन्त्र सहित १२ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । नांगीका स्वतन्त्र उम्मेदवार डाक्टर महावीर पुन, एमालेका बेनी निवासी हरिकृष्ण श्रेष्ठ, नेपाली काँग्रेसका राखु भगवती निवासी कर्णबहादुर भण्डारी र नेकपाका ताकम धारापानी निवासी अर्जुन थापाबिच मुख्य चुनाबी प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।