म्याग्दीमा निर्वाचनको तयारी अन्तिम चरणमा
- १५ फाल्गुन २०८२, शुक्रबार
- 1 पटक पढिएको
म्याग्दी(बेनी), १५ फागुन । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा मतदान पूर्वको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रवार बेनीमा आयोजित निर्वाचन र आमसंचार बिषयक अन्तक्र्रिया कार्यक्रममा निर्वाचनका लागि आबश्यक पर्ने कर्मचारी छनौट, निर्वाचन सामाग्रीको व्यवस्थापन र सुरक्षाको बन्दोबस्त गर्ने काम सकिएको जानकारी गराईएको हो ।
मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जिल्लामा सरल, सहज र शान्तिपूर्ण वातावरणमा निर्वाचन कार्यक्रम अघि बढेको जानकारी दिनुभयो । उहाँले छिटपुट रुपमा निर्वाचन आचार संहिता उलङ्घनका उजुरीहरु आएको र त्यसलाई सचेत गराएर समाधान गरिएको समेत जानकारी दिनुभयो ।
जिल्लामा रहेका १२२ वटै मतदान केन्द्रमा खटिने कर्मचारी छनौट गरी नियुत्ति पत्र प्रदान गर्ने तयारी गरिएको छ । फागुन १८ गतेभित्र सबै मतदान स्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगिसक्ने गरी खटनपटनको काम भइरहेको मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिनुभयो । निर्वाचन सम्पन्न गराउनका लागि खटिने सुरक्षाकर्मी र अनुगमनकर्ता बाहेक मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारी र स्वयंसेवक गरी जिल्लामा १ हजार ७४ जना कर्मचारी परिचालन हुने जनाईएको छ ।
निर्वाचनलाई शान्त, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि मतदान केन्द्रहरुको अनुगमन गरी निर्वाचन लक्षित एकिकृत जिल्ला सुरक्षा रणनीति तयार गरी सुरक्षा व्यवस्थापनको काम गरिएको प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यले जानकारी दिनुभयो । उहाँले मनोनयन दर्तादेखि निर्वाचन प्रचार प्रसार, मौन अवधि, मतदान, मतगणना र निर्वाचित उम्मेदवारको बिजयी उत्सव सम्मका कार्यक्रमलाई लक्षित गरी जिल्लामा रहेका सुरक्षा निकायहरुबिच आवश्यक समन्वय र सहकार्यमा जिल्लामा मजबुत सुरक्षा व्यवस्था मिलाईएको जानकारी दिनुभयो ।
निर्वाचनका लागि जिल्लामा आवश्यक पर्ने मतपत्र लगायतका निर्वाचन समाग्री आइपुगेको र सबै सामाग्रीलाई मतदान केन्द्रका रुपमा छुट्टाछुट्टै तवरले व्यवस्थापन गरिएको जिल्ला निर्वाचन अधिकारी बिमल बिमल प्रसाद गौतमले जानकारी दिनुभयो । प्रतिनिधिसभामा १ निर्वाचन क्षेत्र रहेको यस जिल्लामा १ जना स्वतन्त्र सहित १२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन । निर्वाचनका लागि ८६ हजार ३९७ मतदाता कायम रहेका छन् ।
