म्याग्दीमा निर्वाचनमा खटिने कर्मचारीलाई प्रशिक्षण
- ११ फाल्गुन २०८२, सोमबार
- 17 पटक पढिएको
म्याग्दी ११ फागुन । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा निर्वाचन सम्पन्न गराउन खटिने निर्वाचन कर्मचारीलाई तालिम दिन सुरु गरिएको छ । जिल्लामा रहेका ८२ वटा मतदान स्थलमा १२० स्थायी मतदान केन्द्र र २ अस्थायी मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिन सुरु गरिएको हो ।
जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबारदेखि बेनीमा निर्वाचनलाई शान्त र भयरहित वातावरणमा निष्पक्ष रुपमा सम्पन्न गराउनका लागि निर्वाचनमा खटिने कर्मचारीहरुलाई प्रशिक्षण दिन सुरु गरिएको छ । कार्यक्रममा कर्मचारीहरुलाई प्रशिक्षण दिदै मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जनतालाई भयरहित वातावरणमा आफुले चाहेको उम्मेदवारलाई मत हाल्ने वातावरण बनाउन निर्वाचनमा खटिने कर्मचारीले निष्पक्ष भएर काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले विभिन्न ट्रेड युनियनहरुमा कर्मचारी र शिक्षकहरु आबद्ध हुने भएपनि निर्वाचनमा खटिएको समयमा आफ्नो आबद्धतालाई भुलेर निष्पक्ष निर्वाचन गराउन आफ्नो दायित्व बहन गर्नुपर्ने बताउनुभयो ।
म्याग्दीमा जिल्ला कारागार र कर्मचारीहरुको लागि अस्थायी मतदात केन्द्र सहित १२२ मतदान केन्द्र निर्धारण गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले निजामती कर्मचारी, स्वास्थ्यकर्मी र शिक्षकहरुलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतमा खटाएको छ भने सहायक कर्मचारीहरुको विवरण संकलन गरेर छनौटको तयारी गरिएको छ ।
प्रतिनिधिसभामा १ निर्वाचन क्षेत्र रहेको यस जिल्लामा १ जना स्वतन्त्र सहित १२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन । आगामी निर्वाचनका लागि ८६ हजार ३९७ मतदाता कायम रहेका छन् । निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदान स्थल र १२० मतदान केन्द्र कायम गरिएको छ । हरेक मतदान केन्द्रमा १÷१ जना मतदान अधिकृत , सहायक मतदान अधिकृत र सहयोगी कर्मचारी खटिनेछन् भने ३ जनाको दरले सहायक कर्मचारी खटिनेछन् ।
हरेक मतदान केन्द्रमा ५ सय सम्म मतदाता भएमा २ जना र ५ सय बढी मतदाता भएको केन्द्रमा ३ जना स्वयंसेवक मतदान अधिकृतले खटाउने छन् । जिल्लामा निर्वाचन सामाग्रीको व्यवस्थापन गर्ने काम समेत सकिएको छ । निर्वाचन आयोगले पठाएको पतपत्र, स्वस्तिक छाप, छेकबारा, सुरक्षण सिललगायतका सामाग्रीलाई मतदान केन्द्र अनुसार छुट्टाएर व्याकिङ्ग गरिएको जिल्ला निर्वाचन अधिकारी बिमल प्रसाद गौतमले जानकारी दिनुभयो । उहाँकाअनुसार, आयोगबाट प्राप्त निर्वाचन सामाग्रीको रुजु गरेर मतदान केन्द्रमा रहेका मतदाताको संख्याको आधारमा सामाग्री व्यवस्थापन गरेर पठाउन तयारी अवस्थामा राखिएको छ ।
