११ औँ माघेसङ्क्रान्ति मेलाको आम्दानी खर्च सार्वजनिक

  • ८ माघ २०८२, बुधबार
  • 1 पटक पढिएको

म्याग्दी , ७ पुस । म्याग्दी सदरमुकाम बेनीमा पुस ३० देखि माघ ३ गतेसम्म सञ्चालन भएको ‘११ औँ माघे संक्रान्ति मेला’, खाना महोत्सव एवं कृषि मेलाको आम्दानी खर्च सार्वजनिक गरिएको छ । म्याग्दी उद्योग बाणिज्य संघ अन्तर्गत रहेको महिला उद्यम विकास समितिको मुल आयोजनामा बेनीको खुल्ला मञ्चमा सञ्चालन भएको मेला सम्पन्न भएको चार दिनमै आम्दानी खर्च विवरण सार्वजनिक गरिएको हो ।


मेलामा कुल २१ लाख ४९ हजार ३८७ आम्दानी भएको र २० लाख ९७ हजार ७ सय खर्च भएर ५१ हजार ६१७ रुपैयाँ बचत भएको मेलाका मुल संयोजक एवं महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले जानकारी दिनुभयो । मेलाबाट रु २ लाख म्याग्दी उद्योग बाणिज्य संघले स्थापना गरेको व्यवसायी हितकोषमा समेत जम्मा गरिएको अध्यक्ष उहाँले बताउनुभयो ।

मेलामा आर्थिक सहयोगबाट रु १३ लाख ६ हजार ३८७, स्टलबाट रु ८ लाख २६ हजार ५ सय र प्रतियोगितामा दर्ता शुल्कबाट रु १६ हजार ५ सय आम्दानी भएको थियो । चार दिनसम्म सञ्चालन भएको खाना महोत्सव सहितको मेलामा दर्शकहरुलाई निशुल्क प्रवेशको सुविधा दिएर पनि महिला उद्यमीहरुले खर्च कटाएर बचत गर्न सफल भएको भन्दै मेला पूर्ण रुपमा सफल भएको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । उहाँले मेलालाई शान्तिपूर्ण र भयरहित तवरले सम्पन्न गर्न सहयोग गर्ने सबै सरोकारवालाहरुलाई धन्यबाद समेत ज्ञापन गर्नुभयो ।
बेनीमा परम्परागत रुपमा लाग्दै आएको परम्परागत माघे संक्रान्ति मेलाको जगेर्ना, स्थानीय कला संस्कृतिको संरक्षण, महिला उद्यमीहरुको प्रोत्साहन तथा पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन आयोजित मेलामा जिल्लाभरबाट कृषि तथा पशुजन्य उत्पादनको प्रदर्शनी संगै स्थानीय उत्पादन र लघुउद्यमीहरुले उत्पादन गरेका बस्तु तथा सामाग्रीको खरिद विक्रि समेत भएको थियो ।
मेलाको अवसरमा खुल्ला लोनृत्य, खाना प्रतियोगिता, महिला उद्यमीहरुले उत्पादन गरेको सामग्रीको प्रतियोगिता, दुनाटपरी, बच्चाको टोपि बुन्ने र बाटेको धुप बनाउने प्रतियोगिता, खुल्ला अन्धनिसान, लठो तान्ने, जिल्लाको पर्यटकीय स्थलहरुको विद्यालय स्तरीय खुल्ला पेन्टीङ प्रतियोगिता र छेलो फाल्ने, उद्यमशिल व्यवसायिक योजना लगायतका प्रतियोगिता सञ्चालन भएको थियो । स्थानीय तथा राष्ट्रिय कलाकारहरुको साँगेतिक प्रस्तुती रहेको मेलामा कला कार्यशाला समेत सम्पन्न गरिएको थियो ।