म्याग्दीमा महाविर पुन सहित १३ जनाको मनोनयन दर्ता
- ८ माघ २०८२, बुधबार
- 15 पटक पढिएको
म्याग्दी, ७ पुस । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा २ स्वतन्त्र सहित १३ जनाले उम्मेदवार दर्ता गरेका छन् । सदरमुकाम बेनीमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आयोगले तोकको समयसिमा भित्र उक्त मनोनयन दर्ता भएको सहायक जिल्ला निर्वाचन अधिकृत जगत बहादुर भण्डारीले जानकारी दिनुभयो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ नाङ्गी गाउँमा जन्मिएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका महावीर पुनले स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएको छ । वर्तमान अन्तरिम शुसिला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेका पुनले पदबाट राजीनामा दिएर म्याग्दीबाट प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो । पुनसंगै स्वतन्त्रबाट युवा नविन जि.सी.ले समेत उम्मेदवारी दिनुभएको छ।
जिल्लामा नेकपा (एमाले)बाट हरिकृष्ण श्रेष्ठ, नेपाली काँग्रेसबाट कर्णबहादुर भण्डारी (केबि), नेपाली कम्युनिष्ट पार्टीबाट अर्जुन बहादुर थापा , राष्ट्रिय स्वतन्त्र पार्टीबाट युवराज रोका मगर , नेकपा (माओवादी)बाट क्षेत्रबहादुर (ध्रुव) घिमिरे, राप्रपाबाट डम्बर बहादुर सुवेदी, श्रम संस्कृति पार्टीबाट विनोद राना , मंगोल नेशनल अर्गनाइजेसनबाट भिमबहादुर लामा , राष्ट्रिय जनमोर्चाबाट छेमबहादुर(छवि) विश्वकर्मा, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट देवेन्द्र कामी र नेशनल रिपब्लिक नेपाल पार्टीबाट तुलप्रसाद गर्बुजाले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
विगतका निर्वाचनमा दलहरुले बाजागाजा सहित मनोनयन दर्ता गर्ने गरेको भएपनि यस पटक निर्वाचन आयोगले गरेको निर्णय बमोजिम म्याग्दीका दलहरुले शान्त र मर्यादित तवरले उत्साहपूर्वक मनोनयन दर्ता गराएका छन् । यस पटक जिल्लामा दलहरु गठबन्धन नगरीकन चुनाबमा होमिएको र स्वतन्त्रबाट समेत चर्चित व्यक्तित्वबाट मनोनयन दर्तासंगै अन्य उम्मेदवारहरु नयाँ र युवा उम्मेदवारहरु भएकाले समेत प्रतिस्पर्धामा उत्रिएकाहरुबिच रोचक प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।
आगामी निर्वाचनका लागि म्याग्दीमा कुल ८६ हजार ३९७ मतदाता कायम भएका छन् । एक नगरपालिका र पाँच गाउँपालिकामा समेटिएको प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा अन्य एक जना, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ मतदाता रहेका छन् । निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदान स्थल र १२० मतदान केन्द्र कायम गरिएको छ ।
