म्याग्दीका मुख्य दलहरुबाट उम्मेदवारको टुङ्गो लगाए

  • ६ माघ २०८२, सोमबार
  • 1 पटक पढिएको

म्याग्दी, ६ माघ । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका मुख्य राजनीतिक दलहरुले उम्मेदवारको टुङ्गो लगाएका छन् । जिल्लामा नेकपा (एमाले)बाट हरिकृष्ण श्रेष्ठ, नेपाली काँग्रेसबाट कर्णबहादुर भण्डारी (केबि), नेपाली कम्युनिष्ट पार्टीबाट अर्जुन थापा , राष्ट्रिय स्वतन्त्र पार्टीबाट युवराज रोका मगर र नेकपा (माओवादी)बाट धुव्र घिमिरेले उम्मेदवारी दिने हुनुभएको छ ।
पाँचै जनाले सम्बन्धित पार्टीका तर्फबाट मनोनयनपत्र प्राप्त गरीसक्नुभएको छ । मुख्य दलहरुबाट उम्मेदवारको टुंगो लागेसंगै दलहरु मंगलवार हुने मनोनयन दर्ताको तयारीमा जुटेका छन् । एमालेबाट उम्मेदवार बन्न लाग्नुभएका श्रेष्ठ पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ भने उहाँ २०७९ को प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका खमबहादुर गर्बुजासंग पराजित हुनुभएको थियो ।
नेपाली काँग्रेसबाट उम्मेदवारी दिन लाग्नुभएका भण्डारी पार्टीको जिल्ला उपसभापति हुनुहुन्छ । नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवारी दिन लाग्नुभएका थापा विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा होमिनुभएको थियो भने पार्टीको विशेष प्रदेश समन्वय समितिको सचिवालय सदस्यको जिम्मेवारीमा हुनुहुन्छ ।
रास्वपाबाट उम्मेदवार हुन लाग्नुभएका मगर पार्टीको जिल्ला सभापति हुनुहुन्छ भने नेकपा (माओवादी)बाट उम्मेदवार बन्न लाग्नुभएका घिमिरे पार्टीको पोलिटव्युरो सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज हुनुहुन्छ । एमालेबाट उम्मेदवार बन्न लाग्नुभएका श्रेष्ठ बाहेक अन्य चार जना पहिलो पटक चुनाबमा होमिनुभएको हो ।
यस पटक जिल्लामा दलहरु गठबन्धन नगरीकन चुनाबमा होमिएको र नयाँ र युवा उम्मेदवारहरु प्रतिस्पर्धामा उत्रिएकाले दलहरुबिचको चुनाबी प्रतिस्पर्धा रोचक हुने देखिएको छ । आगामी निर्वाचनका लागि म्याग्दीमा कुल ८६ हजार ३९७ मतदाता कायम भएका छन् । एक नगरपालिका र पाँच गाउँपालिकामा समेटिएको प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा अन्य एक जना, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ मतदाता रहेका छन् । निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदान स्थल र १२० मतदान केन्द्र कायम गरिएको छ । म्याग्दीमा राप्रपा लगायतका दलहरूकाे उम्मेद्वारी अझै टुंगाे लागेकाे छैन् ।