म्याग्दी जेसीजका निवर्तमान शाखा अध्यक्ष घर्तिद्धारा ताकम माविका विद्यार्थीलाई पुरस्कार घोषणा
- २७ पुष २०८२, आईतवार
- 27 पटक पढिएको
म्याग्दी, २७ पुस । म्याग्दी जेसीजका सन २०२५ का शाखा अध्यक्ष विनोद घर्तिले धवलागिरी गाउँपालिका–७ ताकममा रहेको ताकम माविबाट एसइई परिक्षामा उत्कृष्ट नतिजा ल्याउन विद्यार्थीलाई नगद पुरस्कार दिने घोषणा गर्नुभएको छ । म्याग्दी जेसीजको नेतृत्व गरी सन २०२६ का लागि नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण समारोहमा घर्तिले हरेक बर्ष ताकम माविबाट एसइई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने १/१ जना छात्र र छात्रालाई जनही नगद रु ७ हजार पुरस्कार दिने घोषणा गर्नुभएको हो ।

दिवंगत बुबा गणेशबहादुर घर्तिको स्मृतिमा हरेक बर्ष म्याग्दी जेसीजको सहजीकरणमा आफुले उक्त पुरस्कार प्रदान गर्ने घर्तिले बताउनुभयो । उहाँले म्याग्दी जेसीजका नियमित गतिविधिलाई सघाउन आफुले रु ४० हजार बराबरको रकम जम्मा गरेर अक्षयकोष स्थापनाको सुरुवात समेत गर्ने प्रतिबद्धता जनाउनुभएको छ । घर्तिले आफ्नो कार्यकालमा युवाहरुको नेतृत्व र व्यक्तित्व विकास संगै खेलकुद, पर्यटन प्रवद्र्धन, सामाजिक कार्यहरुमा रचनात्मक कार्यहरु सम्पन्न गर्न सफल हुनुभएको थियो ।
शनिवार बेनीमा सम्पन्न २७ औँ पदस्थापना तथा पुरस्कार वितरण समारोहमा म्याग्दी जेसीजका शाखा अध्यक्ष विनोद घर्तिले नवनिर्बाचित अध्यक्ष दिनेश विश्वकर्मालाई पद हस्तान्तरण गर्नुभएको छ । नवनिर्वाचित अध्यक्ष विश्वकर्मालाई शाखा अध्यक्ष घर्ति र नवनिर्वाचित पदाधिकारीहरुलाई नवनिर्वाचित अध्यक्ष विश्वकर्माले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो ।