पत्रकारितामा एआईको उचित उपयोग गर्न ‘म्याग्दी एआई घोषणापत्र’ जारी
- २३ पुष २०८२, बुधबार
- 21 पटक पढिएको
म्याग्दी २३ पुस । पत्रकारितामा एआईको उचित उपयोगका लागि ११ बुँदे ‘म्याग्दी एआई घोषणपत्र’ जारी भएको छ । गण्डकी प्रदेश प्रेस रजिस्ट्रारको कार्यालय, पोखराको सहकार्यमा नेपाल पत्रकार महासंघ म्याग्दीको आयोजनामा विहिवार सम्पन्न दुई दिने एआई तथा मोबाइल पत्रकारिता तालिमबाट ‘म्याग्दी एआई घोषणापत्र’ जारी गरिएको हो । कार्यक्रममा सहभागी पत्रकारहरूले पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) को सही, जिम्मेवार र नैतिक प्रयोगमा प्रतिबद्धता जनाएका छन् । घोषणापत्रमा एआई पत्रकारको विकल्प नभई सहायक माध्यम मात्र भएको स्पष्ट गर्दै अन्तिम निर्णय मानवीय विवेक र जिम्मेवारीमै रहने उल्लेख गरिएको छ ।
एआईको सहयोगमा उत्पादन गरिने सामग्रीको जिम्मेवारी प्रयोगकर्ता मानव पत्रकार, पदाधिकारी वा सम्बन्धित संस्थाकै हुने, एआई प्रयोग गरिएको सामग्रीमा स्रोत अनिवार्य रूपमा खुलाउनुपर्ने तथा भ्रम, अश्लीलता वा दुरुपयोगजन्य कार्यमा एआई प्रयोग नगर्ने प्रतिबद्धता घोषणापत्रमा समेटिएको पत्रकार महासंघ म्याग्दीका सचिब ठाकुर प्रसाद आचार्यले जानकारी दिनुभयो ।

घोषणापत्रमा एआईको प्रयोग आवश्यकता अनुसार सीमित राख्दै मानव रोजगारी, मानवता, सृजनशीलता, क्रियाशीलता, सत्यता र जवाफदेहितामा असर नपर्ने गरी प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ । सबै सञ्चारकर्मीलाई एआई प्रयोगमा सक्षम बनाउन आपसी ज्ञान आदानप्रदान, तालिम र प्रशिक्षणलाई निरन्तरता दिने प्रतिवद्धता पनि घोषणापत्रमा जनाइएको छ ।
पत्रकारका लागि एआई आचारसंहिता तत्काल आवश्यक भएको ठहर गर्दै प्रेस रजिष्टारको कार्यालय, प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ लगायतका निकायलाई आचारसंहिता जारी गर्न माग गरिएको छ । घोषणापत्रमा पत्रकारिताबाहेक शिक्षा, स्वास्थ्य, कृषि, व्यापार, व्यवसायलगायत सबै क्षेत्रमा एआईको सही र जिम्मेवार प्रयोगका लागि पैरवी गर्ने उल्लेख गरिएको छ । साथै, एआईको प्रयोगलाई व्यवस्थित गर्न स्थानीय सरकार, सरकारी निकाय, सामाजिक तथा निजी संस्थालाई एआई साक्षरता, सचेतना, शिक्षा र प्रशिक्षणका कार्यक्रम अघि बढाउन आग्रह गरिएको छ ।
तालिममा अनलाइन टिभि पत्रकार संघका अध्यक्ष जीवन भण्डारीले मिडियामा एआईको प्रयोग, उपयोगीता र अपनाउनुपर्ने साबधानी र मोवाईल पत्रकारिता सम्वन्धी प्रशिक्षण दिनुभएको छ । तालिम समापन समारोहमा बोल्दै बेनी नगरपालिकाका मेयर सुरत केसीले पत्रकारितामा एआईको प्रयोग अनिवार्य भएपनि आफ्नो मौलिक सिर्जनालाई असर नपर्ने र तथ्यलाई नमोड्ने गरी उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीले आम सञ्चार माध्यमबाट छिटो, छरितो र स्तरीय सञ्चार सामाग्री दिनका लागि एआईको उपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले एआईका टुल्सहरुले समाचार लेखन, तस्बिरको प्रयोग र भिडियो निर्माणमा सहयोग पुग्ने बताउँदै समयसापेक्ष रुपमा अब हरेक पत्रकारले आफुलाई एआई टुल्स र मोवाइल पत्रकारितामा समेत अभ्यस्त गराउनुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सहभागि सुरेन गुरुङ र देवि जिसीले मन्तव्य राख्नुभएको थियो भने सचिब अचार्यले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।