विद्यार्थी पढाऔँ अभियानको तेस्रो वार्षिक साधारणसभा सम्पन्न
- २२ पुष २०८२, मंगलवार
- 29 पटक पढिएको
म्याग्दी २२ पुस । म्याग्दीकाे बेनी नगरपालिका-९, तोरीपानीमा रहेको विद्यालयमा विद्यार्थी पढाऔँ सहयोग अभियानको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ। गरिब तथा जेहेन्दार विद्यार्थीहरुको पठन पाठनमा सहयोग गर्ने उद्देश्य सहित स्थापना भएको अभियानको साधारणसभाको अवसरमा विद्यालयमा अध्ययनरत २५ जना विद्यार्थीहरुलाइ विद्यालय झोला तथा कपी हस्तान्तरण गरिएको थियो ।
अभियानका संयोजक दामोदर शर्माको अध्यक्षता बेनी नगरपालिका वडा ९ का वडा अध्यक्ष चक्र केसी प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा अभियानले हालसम्म सञ्चालन गरेका शैक्षिक तथा सामाजिक गतिविधिबारे जानकारी गराइएको थियो । अभियानको १० लाखको अक्षयकोष बनाउने योजना रहेको र हालसम्म ८ लाख ५० हजार संकलन भएको छ । प्रमुख अतिथि केसीले शिक्षा क्षेत्रमा समुदायको साझा दायित्व रहेको उल्लेख गर्दै ‘विद्यार्थी पढाऔँ अभियान’ले आर्थिक रूपमा कमजोर विद्यार्थीहरुको अध्ययन अध्यापनमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताउनुभयो।
कार्यक्रममा स्वागत मन्तव्य अभियानका सचिव सन्दीप खत्रीले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन विद्यालयका प्रधानाध्यापक गणेश बानियाँले गर्नुभएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक–शिक्षिका, अभिभावक, अभियानका सदस्य तथा स्थानीय व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालय परिवार तथा अभियानले सहयोगी दाताहरूप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि विद्यार्थी केन्द्रित कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । साथै सोही कार्यक्रमको अवसरमा विभिन्न समाजसेवी, चन्दादाता, निर्माण व्यवसायी आदीबाट प्राप्त ४४ जना विद्यार्थीलाई न्यानो कपडा समेत वितरण गरिएको थियो।