प्रतिनिधिसभा निर्वाचन : म्याग्दीमा ८६ हजार ३९७ मतदाता कायम
- २१ पुष २०८२, सोमबार
- 1 पटक पढिएको
म्याग्दी, २१ पुस । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीमा ८६ हजार ३९७ मतदाता कायम भएका छन् । एक नगरपालिका र पाँच गाउँपालिकामा समेटिएको प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा अन्य एक जना, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ मतदाता रहेका छन् ।
सरकारले निर्वाचन घोषणा गरेपछि असोज १० देखि मंसीर ५ गतेसम्म मतदाता नामावली दर्ता तथा अध्यावधिक गरिएको र उक्त अभियानबाट नयाँ मतदाता दर्ता संगै मतदाता नामावलीमा रहेको दोहोरोपन हटाउने, त्रुटि सच्याउने, मृत्यु भएकाहरुको नाम हटाउने लगायतका काम सकेर अन्तिम मतदाता नामावली प्रकाशन गरिएको जिल्ला निर्वाचन अधिकारी विमल प्रसाद गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार, अभियानबाट २ हजार २ सय ३७ जना मतदाताको नयाँ दर्ता, १९० जनाको ठाउँसरी, र ८२ जनाको त्रुटी सच्याउने काम गरिएको छ । नयाँ थपिएका मतदाता मध्ये निर्वाचन कार्यालयमै पुगेर बायोमेट्रिक्स गरी आठ सय १९ जना र राष्ट्रिय परिचयपत्र नम्बर प्रयोग गरेर एक हजार चार सय १८ जनाले मतदाता नामावली दर्ता गराएका हुन् ।
यस पटक कायम भएको मतदाता गत २०७९ सालको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको भन्दा २७७ ले बढेको देखिएको छ । अघिल्लो निर्वाचनमा जिल्लामा कुल ८६ हजार १२० मतदाता कायम भएका थिए ।
जिल्लामा यस पटक चार पालिकामा मतदाता घटेका छन भने दुई पालिकामा बढेका छन् । ०७९ को निर्वाचनमा कायम भएको मतदाताको तुलनामा बेनी नगरपालिकामा ३९७ जना र मालिका गाउँपालिकामा २१ जना बढेका छन् । रघुगंगामा ६१, अन्नपूर्णमा ३९ , मंगलामा २१ र धवलागिरीमा ६ जना मतदाता घटेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
‘‘निर्वाचनको लागि आबश्यक तयारी तिब्र पारेका छाँै, आयोगको निर्देशन बमोजिम कार्यालयमा रहेका निर्वाचन सामाग्रीको मौग्दातको विवरण आयोगमा पठाएका छाँै’’–जिल्ला निर्वाचन अधिकृत गौतमले भन्नुभयो । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकबाट ८२ वटा मतदान स्थल कायम गरिएको छ । अघिल्लो निर्वाचनमा ११९ मतदात केन्द्र रहेकोमा यस पटक एक मतदान केन्द्र थप भएको कार्यालयले जनाएको छ ।
मतदान स्थलको शान्ति सुरक्षा र मतपेटिकाको ढुवानीको लागि प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यको नेतृत्वमा जिल्ला सुरक्षा समितिसमेतको सहभागितामा मतदात स्थलहरुको निरीक्षण समेत सुरु गरिएको छ । निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाइ मतपेटिकाको सुरक्षाका लागि आबश्यक सुरक्षा रणनीति तय गर्न मतदान स्थलहरुको निरीक्षण गर्न थालिएको जनाइएको छ ।