रानीपौवादेखि घोरेढुङ्गा हुँदै चमेरे आर्यघाट जोड्ने पदमार्ग निर्माण सुरु
- २१ पुष २०८२, सोमबार
- कमल खत्री
- 37 पटक पढिएको
म्याग्दी २१ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका– ३ रानीपौवादेखि चमेरे जोड्ने परम्परागत पदमार्गमा झाँडीभित्र हिड्नुपर्ने बाध्यता हटाउन व्यवस्थित पदमार्ग निर्माण सुरु गरिएको छ । रानीपौवादेखि घोरेढुङ्गा हुँदै चमेरे आर्यघाट जोड्ने गोरेटोबाटो जङ्गलभित्र भिरालो र साँघुरो डोरोमा झाडीलाई पन्छाएर हिड्नुपर्ने भएपछि ढलान गरी सिँडीसहितको पदमार्ग निर्माण गर्न सुरु गरिएको हो ।
चालु आर्थिक बर्ष २०८२/०८३ मा रघुगंगा गाउँपालिकाबाट विनियोजन भएको रु तीन लाख ५० हजार बजेटमा श्रमदान र सहयोग जुटाएर पदमार्ग निर्माण गर्न लागिएको रानीपौवा घोरेढुङ्गा चमेरे आर्यघाट पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष तोरणबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार, गाउँपालिकाका प्राविधिकद्धारा लागत स्टिमेट तयार गरी विनियोजन भएको बजेटबाट १३२ मिटर पदमार्ग निर्माण गरिएको छ ।
चमेरेदेखि नै जङ्गलको झाडी फडानी गरेर सोलिङ्ग सहित ढलान गरी साढे १ मिटर फराकिलो पदमार्ग निर्माण गरिएको छ । पदमार्ग निर्माणमा स्थानीयबासीले श्रमदान समेत गरेका छन् । मुख्यगरी गाउँमा दिवंगत भएकाहरुको अन्तिम संस्कारका लागी चमेरे स्थित कालीगण्डकी नदी किनारको आर्यघाटमा लैजानका लागि प्रयोग हुने यस गोरेटो बाटो पुननिर्माणका लागि देश तथा विदेशमा रहेका स्थानीयबासीले स्वच्छीक रुपमा सहयोग समेत जुटाउन थालेका छन् ।
रानीपौवादेखि घोरेढुंगा हुँदै चमेरे आउने र चमेरदेखि कालीगण्डकी नदी किनार जाने बाटो समेत जोखिमपूर्ण रहेको र गाउँपालिकाबाट विनियोजन भएको बजेट अपुग हुने भएपछि देश तथा विदेशमा रहेका स्थानीयबासीबाट सहयोग जुटाएर थप पदमार्ग निर्माण गर्ने तयारीमा जुटेको उपभोक्ता समितिका अध्यक्ष कार्कीले जानकारी दिनुभयो । दुई सातादेखि दैनिक १२ देखि १५ जना पदमार्ग निर्माणमा खटिएका छन् । रानीपौवादेखि चमेरे हुँदै आर्यघाटसम्मको गोरेटोबाटो मध्ये करिब १ किलोमिटर बाटो भिरालो र साँघुरो भएकाले त्यसलाई स्तरोन्नती सहित पक्की पदमार्ग बनाएर पुननिर्माण गर्नुपर्ने अवस्थामा छ ।
रघुगंगाको वडा नम्बर ३ रानीपौवाका साथै वडा नम्बर २ तल्लाघर र कोलमुनी बस्तीका स्थानीयले समेत दिवंगत भएकाहरुलाई यसै बाटो भएर आर्यघाटमा अन्तिम संस्कारका लागि लैजाने गर्छन् । यो पदमार्ग निर्माणले पूर्णता पाएमा गाउँमा निवंगत भएकाहरुलाई अन्तिम संस्कारका लागि कालीगण्डकी स्थित आर्यघाट पु¥याउन सहज हुनेछ भने गाउँमा उत्पादन भएको केरा, सुन्तला लगायतका कृषिजन्य उत्पादनलाई विक्रि वितरण गर्न समेत सहज हुने उपभोक्ता समितिका सचिब रामबहादुर कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, जङ्गलबाट घाँस दाउरा घरमा ल्याउन र बेनी–जोमसोम सडकखण्डको चमेरेदेखि छोटो दुरीमा रानीपौवा गाउँ उक्लिन यो पदमार्ग उपयोगी हुनेछ । ‘‘अहिले गाउँमा दिवंगत भएकाहरुलाई घाटमा ल्याउन निकै कठिन छ, भिरालो र साँघुरो डोरोमा जोखिमपूर्ण तवरले हिड्नुपर्छ, झाडीले बाटो ढाकिने भएकाले नियमित जसो झाडी फाँड्नुपर्ने बाध्यता छ’’– उपभोक्ता समितिका सचिब कार्कीले भन्नुभयो । यो पदमार्ग पुननिर्माण सम्पन्न भएमा चमेरेदेखि रानीपौवा, तल्लाघर हुँदै ऐतिहासिक भगवती कोत मन्दिर भएर पर्यटकीय स्थल रुइसे क्षेत्रसम्मको पदयात्रा गर्नका लागि समेत प्रयोगमा आउनेछ । रासस

कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l