भूतपूर्व सैनिक बचत तथा ऋण सहकारीको २० औँ बार्षिक साधारणसभा
- १९ पुष २०८२, शनिबार
- 114 पटक पढिएको
म्याग्दी, १९ पुष । म्याग्दी सदरमुकाम बेनीमा मुख्य कार्यालय रहेको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाको २० औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाको अवसरमा सहकारीले शेयर सदस्यहरुका लागि एक दिने सहकारी शिक्षा समेत प्रदान गरिएको छ । कार्यक्रममा नेफस्कुनका कार्यक्रम अधिकृत मनोज खड्का र सहकारीका पूर्व अध्यक्ष बालकृष्ण सुवेदीले सहजीकरण गर्नुभएको थियो ।
सहकारीले आर्थिक बर्ष २०८१/०८२ मा रु २ करोड ६४ लाख १७ हजार ८१६ आम्दानी गरेकोमा रु २ करोड ५९ लाख ६१ हजार १५८ सञ्चालन खर्च भएर रु ४ लाख ४८ ६६५ नाफा गरेको जनाएको छ । रु ४ करोड २५ लाख ९१ हजार ६ सय शेयर पुँजि रहेको यस सहकारीमा रु १८ करोड ६७ लाख बचत संकलन र १५ करोड ८३ लाख ७७ हजार ८४८ ऋण लगानी भएको छ ।

साधारणसभाको उद्घाटन गर्दै पूर्व अध्यक्ष बालकृष्ण सुवेदीले सहकारीको सिद्धान्त र मार्गदर्शनलाई आत्मसाथ गर्दै अगाडी बढेर उत्पादन र उद्यमशिल क्षेत्रमा लगानी गर्न सकेमा सहकारी संस्था सबल हुने बताउनुभयो । उहाँले भूतपूर्व सैनिक सहकारीले गरेका लगानी सहकारीको मार्गदर्शन र अनुशासन बाहिर नभएकाले शेयर सदस्यहरुले समेत बचत संगै उद्यमशिल बन्न ऋण लिएर आर्थिक कारोवारमा जोडिनुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारी संस्थाहरु राज्यका निकायका साथै शेयर सदस्यले समेत नियमन गर्नुपर्ने र सञ्चालकले कुसल तवरले सञ्चालन गर्नुपर्ने आबश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा प्रोबेशन कार्यदलको तर्फबाट मोहन बानियाँ, शेयर सदस्य दुर्गा भण्डारी, गजिन्द्र श्रेष्ठ, सल्लाहकार लेखबहादुर हमाल लगायतले मन्तव्य राख्नुभएको थियो । साधारणसभाको अवसरमा ज्येष्ठ शेयर सदस्यहरुमध्ये स्वस्तिका देवि शर्मा र बलबहादुर विकलाई जेष्ठ सदस्य सम्मान गरिएको छ । उत्कृष्ट कारोबारतर्फ खड्कबहादुर खत्री, माया पाण्डे,टेकबहादुर भण्डारीलाई सम्मान गरिएको थियो भने उत्कृष्ट कर्मचारीको रुपमा भगवती शर्मा तथा एसइईमा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका छोराछोरीमध्ये शत्तिः सुवेदी र दृष्टि शर्मालाई समेत पुरस्कृत गरिएको छ ।
कार्यक्रममा सहकारीका अध्यक्ष नरेन्द्रकुमार श्रेष्ठद्धारा आर्थिक बर्ष २०८१/०८२ को प्रतिवेदन, सचिब कल्पना रेग्मी पाध्याद्धारा प्रगति प्रतिवेदन , कोषाध्यक्ष दलबहादुर भण्डारीद्धारा आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक रेशमबहादुर छन्त्यालद्धारा लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहकारीका अध्यक्ष श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष हिराप्रसाद श्रेष्ठको स्वागत र काशिराम पाध्याको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको सहकारीका व्यवस्थापक नारायण सुवेदीले जानकारी दिनुभयो । नेफस्कुनद्धारा सञ्चालित पूर्ण तथा व्यवसायिक साकोस विकास (प्रोबेशन) मा समेत आबद्ध भएको यस सहकारीले बेनी बजारमा मुख्य कार्यालय र रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटबाट सेवा केन्द्र सञ्चालन गरेर बचत संकलन तथा ऋण लगानीको आर्थिक कारोवार गर्दै आएको छ ।

