रोमाञ्चक खेलमा नेपालले युएईलाई एक रनले हरायो

  • २६ आश्विन २०८२, आईतवार
  • 1 पटक पढिएको

नेपालले आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर–६ मा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई रोमाञ्चक खेलमा १ रनले पराजित गरेको छ। नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४१ रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ४० रन मात्रै बनायो।

आइतबार ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए। प्रशिक्षक स्टुवार्टले तेस्रो खेलमा पनि कुनै खेलाडी परिवर्तन गरेनन्।  अन्तिम ओभरमा युएईलाई खेल जित्न ९ रन चाहिएको थियो। बलिङ गर्न आएका दीपेन्द्रसिंह ऐरी सफल देखिए। अन्तिम ओभरमा नेपालले तीन विकेट लिएको थियो।

यसअघि नेपालको शीर्षक्रमका ब्याटरले सानदार प्रदर्शन गरे पनि मध्यक्रम भने चल्न सकेन। मध्यक्रम चल्न नसक्दा नेपाल युएईविरुद्ध ठुलो स्कोर बनाउन चुक्यो। दबाबमा आएको नेपालले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै दुई अंक खोस्न सफल भएको छ। योसँगै सुपरसिक्समा नेपालले दुई अंक जोडेको छ। समग्रमा नेपालले ४ अंक जोडेको छ।

आज नै भएको सुपर सिक्सको पहिलो खेलमा ओमानले कतारलाई ३४ रनले पराजित गर्दै पहिलो दुई अंक जोडेको छ। समूह चरणमा दुबै खेल जितेपछि नेपालसहित युएई र ओमानले सुपर सिक्सको सुरुमै दुई जोडेका थिए।

नेपालले पहिलो खेलमा कुवेतलाई ५८ र दोस्रो खेलमा जापानलाई पाँच विकेटले हराएको थियो। नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक विश्वकप खेल्ने योजनामा छ। युएई पनि तेस्रो पटक विश्वकप खेल्ने योजनामा छ। समूहमा युएईले मलेसियालाई ६ विकेट तथा कतारलाई सात विकेटले पराजित गरेको थियो। सुपर सिक्समा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष तीनमा रहने टोली आगामी वर्ष भारत र श्रीलंकामा हुने आइसिसी विश्वकप छनोटमा स्थान बनाउनेछन्। अब, नेपालले सोमबार कतारसँग खेल्नेछ।