रघुगंगा गाउँपालिकामा ५० करोड ११ लाख बढीको बजेट पारित
- ५ असार २०८२, बिहीबार
- कमल खत्री
- 113 पटक पढिएको
म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक २०८२/०८३ का लागि रु ५० करोड ११ लाख बढीको बजेट पारित गरेको छ । बिहिबार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न १९ औं गाउँ सभामा गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले प्रस्तुत गर्नुभएको आगामी आर्थिक बर्षका लागि वार्षिक नीति, कार्यक्रम र उपाध्यक्ष प्रेमकुमारी पुनले पुस्तुत गर्नुभएको बजेट छलफल गरी पारित गरिएको हो ।
गाउँसभामा उपाध्यक्ष पुनले प्रस्तुत गर्नुभएको रु ५० करोड ११ लाख ४० हजार ८ सय २० बराबरको बजेटमाथि छलफल गरी सर्वसम्मत रुपमा पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिनुभयो । गाउँपालिकाले चालु तर्फ रु ३७ करोड ६७ लाख ६० हजार ८२० र पुँजीगततर्फ रु १२ करोड ४३ लाख ९० हजार बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाले पारित गरेको बजेटमा संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान तर्फ रु ९ करोड २८ लाख ,राजश्व बाँडफाँड तर्फ रु १० करोड २५ लाख ७३ हजार ८ सय २० ,सशर्त अनुदान तर्फ रु २१ करोड ८८ लाख, विशेष अनुदान रु एक करोड २३ लाख र समपुरक अनुदान तर्फ रु ७० लाख गरी संघीय सरकारबाट रु ४३ करोड ३४ लाख ७३ हजार ८ सय २० बराबरको स्रोत बजेटमा समावेश गरिएको छ ।
यस्तै गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान रु एक करोड एक लाख ६७ हजार, राजश्व बाँडफाँड तर्फबाट रु एक करोड १५ लाख, समपुरक अनुदान रु ६० लाख, विशेष अनुदान ४० लाख गरी कुल ३ करोड १६ लाख ६७ हजार समावेश गरिएको उपाध्यक्ष पुनले जानकारी दिनुभयो
गाउँपालिकाले आन्तरिक राजश्व तर्फ एक करोड ५ लाख र चालु आवमा खर्च नभई बाँकी रहन आउने अनुमानित रकम रु २ करोड ५५ लाखलाई समेत स्रोत अनुमान गरेर बजेटमा समावेश गरिएको उपाध्यक्ष पुनले गाउँसभामा जानकारी गराउनुभएको थियो । पूर्वाधार निर्माण, कृषि, पशुपाला, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको गाउँपालिकाले गौरवको योजनाको रुपमा अघि बढाएको प्रशासकीय भवन निर्माणको लागि रु २ करोड ५० लाख बजेट विनियोजन गरेको छ । त्यसैगरी भगवती मैदानदेखि बेगखोला बेगदेउराली, बाँदुक तिप्ल्याङ सडक निर्माणका लागि संघीय समपुरक अनुदान र गाउँपालिकाको साभेदारीमा रु १ करोड बजेट विनियोजन भएको छ ।
गाउँसभामा अध्यक्ष भण्डारीले पालिकाभित्रको समस्याको समाधान, सम्भावनाको खोजी र जनताका अत्यावश्यक चाहनालाई पुरा गर्ने गरी नीति तथा कार्यक्रम ल्याईएको बताउनुभयो । गाउँपालिकाले पूर्वाधार निर्माण मार्फत पालिकालाई विकसीत बनाउने, कृषिलाई यान्त्रिकरण र विशिष्टीकरण गर्दै आत्मनिर्भर बनाउने, पशुपालनलाई प्रवद्र्धन गर्ने, विकास निर्माण योजनाहरु मार्फत रोजगारी सिर्जना गर्ने, उद्यमशिलाताको विकास गर्ने, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने, स्वास्थ्य उपचारमा नागरिकको सहज पहुँच बढाउने नीति लिएको छ ।

कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l