नारच्याङको लेक गाउँमा ‘एक घर एक धारा’ खानेपानी विस्तार
- ३ असार २०८२, मंगलवार
- कमल खत्री
- 69 पटक पढिएको
म्याग्दी, २ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा एक घर एक धारा खानेपानी विस्तार भएको छ । लेकगाउँ खानेपानी तथा सरसफाई आयोजना मार्फत गाउँका ८६ घरधुरी, एक विद्यालय र दुई सामुदायिक भवनमा शुद्ध खानेपानीको पहुँच विस्तार गरिएको हो ।
लेक गाउँ खानेपानी आयोजना सम्पन्न भएसँगै सबै घरमा शुद्ध खानेपानीको सुविधा पुगेको निर्माण उपभोक्ता समितिका अध्यक्ष सोमबहादुर रञ्तिजाले बताउनुभयो । ‘‘घरघरमा निर्माण भएका धाराबाट पानी खस्न थालेको छ, मुहानदेखि ट्यांकी हुँदै धाराका पूर्वाधार बनाउँदा पानि सुरक्षालाई ध्यान दिईएको छ, घरघरमा खानेपनीको सुविधालाई स्थानीयबासीलाई सहज भएको छ’’– अध्यक्ष रञ्तिजाले भन्नुभयो ।
गोर्खा वेल्फेयर ट्रस्टको आर्थिक तथा प्राविधिक सहयोग र समुदायको श्रमदानबाट लेकगाउँमा खानेपानी आयोजना निर्माण भएको हो । गत चैत २९ गतेदेखि निर्माण सुरु भएको यस आयोजना दुई महिनामै निर्माण सम्पन्न भएको गोर्खा वेल्फेयर ट्रष्टका नारच्याङ खानेपानी आयोजना प्रमुख सन्तापसिंह राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार, खानेपानी आयोजना निर्माणका लागि ट्रष्टको रु ५० लाख ५४ हजार तीन सय चार र स्थानीयवासीको दस लाख ९२ हजार आठ सय बराबरको श्रमदान गरी कुल रु ६१ लाख ४७ हजार एक सय चार लगानी भएको छ । आयोजनाले इन्टेक, कलेक्सन च्याम्बर, बिपिटी, , आरबिटी, वितरण च्याम्बर लगायतका पूर्वाधार संगै मूख्य र वितरण पाइपलाइन मार्फत घरघरमा धारा निर्माण गरेर खानेपानी वितरण सुरु गरेको छ ।
आयोजनाले स्थानीय क्रान्ति आधारभूत विद्यालयमा खानेपानीको धारा संगै अपांगमैत्री शौचालय समेत निर्माण गरिदिएको छ । नेपाल सरकारले लागू गरेको खानेपानी सुरक्षा योजनालाई पूर्ण रुपमा पालना गरी मुहानदेखि नै खानेपानी योजनाका पूर्वाधारलाई सुरक्षित, व्यवस्थित र गुणस्तरीय बनाउने प्रयास गरिएको आयोजनाका इञ्जिनियर उक्तमलाल श्रेष्ठले जानकारी दिनुभयो ।
‘‘ हामीले खानेपानी आयोजना बनाउने मात्रै होइन, उपभोक्ताहरुलाई सुरक्षित र स्वच्छ खानेपानी दिनुपर्छ भन्ने मान्यता अनुरुप पूर्वाधार निर्माणमा गुणस्तरीयता र आयोजनाको सुरक्षालाई ध्यान दिएका छाँै’’– उहाँले भन्नुभयो । यस आयोजनाको मुलमा बाढीले असर नगर्ने प्रविधिलाई प्रयोग गरिएको छ भने पानी ट्याङ्कीहरुमा बाहीरबाट कुनै पनि फोहोर भित्र पस्न नसक्ने गरी सावधानी अपनाइएको छ ।
आयोजना निर्माण सुरु भएको दुईमहिनाको अवधिमै सम्पन्न भई धाराबाट पानी आउन थालेपछि स्थानीयवासीहरू उत्साहित भएका छन् । गाउँको शिरानमा रहेको पानीखाना मुलबाट पानी ल्याएर १० हजार र ६ हजार लिटरका दुई वटा पानी सङ्कलन ट्याङ्की निर्माण गरेर घरघरमा पानी वितरणको व्यवस्था मिलाइएको आयोजनाका सुपरभाइजर जमुना जिरेलले जानकारी दिनुभयो । यस आयोजनामा खानेपानीमा शुद्धता कायम गर्न मुल र पानी ट्याङ्कीहरुको संरक्षण गरिएको छ । योजनाका दिगोपानका लागि स्थानीय उपभोक्तालाई निर्माण कार्यमा परिचालन गर्नुका साथै मर्मत सम्भार तालिम समेत प्रदान गरिएको छ ।

कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l