लेखोला जलविद्युत आयोजनाको विद्युत् राष्ट्रिय प्रशारणमा जोडियो
- १ असार २०८२, आईतवार
- कमल खत्री
- 145 पटक पढिएको
म्याग्दी , १ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा निर्माण भएको छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रशारणमा जोडिएको छ । ह्युम कन्सल्ट प्रा.ली. प्रवद्र्धक रहेको आयोजनाले निर्माण सकेर विद्युत उत्पादननका लागि आन्तरिक परिक्षण सफल भएपछि विद्युत उत्पादन सुरु गरेको हो ।
आयोजनाले विद्युत् गृहमा जडान गरेका मेसिन उपकरण र उत्पादित विद्युत्लाई राष्ट्रिय प्रशारणमा जोड्ने प्रशारण लाइनको परिक्षण सफल भएसंगै शनिवारदेखि आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रशारणमा जोडिएको आयोजना प्रमुख दार्शनिक काफ्लेले जानकारी दिनुभयो । विद्युत् विकास बोर्ड र नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिहरु तथा ठेकेदार कम्पनीका प्राविधिकहरुद्धारा विद्युत् गृहमा टवाइन लगायतका उपकरणमा विद्युत उत्पादनको परिक्षण गरी कालीगण्डकी कोरिडोर प्रशारण लाइन अन्तर्गत दाना सबस्टेशन मार्फत राष्ट्रिय प्रशारणमा जोडिएको आयोजना प्रमुख काफ्लेले बताउनुभयो ।
‘‘आयोजनाबाट उत्पादित विद्युत् करिब २० दिनका लागि परिक्षणको रुपमा रहनेछ, परिक्षण अवधिमा प्राविधिक समस्या नदेखिए व्यावसायिक रुपमा विद्युत उत्पादन सुरु हुन्छ’’–आयोजना प्रमुख काफ्लेले भन्नुभयो । वि.स. २०७७ देखि नै नारच्याङको वेँशी गाउँबाट पहुँचमार्गका लागि सडक खन्न सुरु गरेको यस आयोजनाले वि.स. २०७९ सालदेखि आयोजनाको भौतिक पूर्वाधार निर्माण सुरु गरेको थियो । यस आयोजनाले नारच्याङको बेशीगाउँ देखि लेकगाउँहुँदै बाँध र विद्युतगृह निर्माण स्थलसम्म १३ किलोमिटर पहुँचमार्ग बनाएको छ । आयोजनाको पहुँचमार्गबाट लेकगाउँका बासिन्दालाई सडक यातायातको सुविधा पुगेको छ । एक बर्ष अघि नै निर्माण सम्पन्न गर्ने लक्ष्य रहेपनि गत बर्ष आएको बाढीले बाँध र इन्टेकमा क्षति पु¥याएपछि आयोजनाबाट ढिला गरी विद्युत् उत्पादन भएको हो ।
विद्युतृ गृहमा दुई वटा टर्वाइन जडान गरेर विद्युत् उत्पादन सुरु भएको छ । रेलेखर्क स्थित निर्माण भएको बाँध क्षेत्रमा पानी थिग्राउने पोखरी, अण्डर स्विच, डिसेन्डरको आउटलेट, इन्लेट, फोरवे लगायतका पूर्वाधार बनाएर ३ हजार पाँच सय मिटर लामो पेनस्टक पाइपलाइन मार्फत पानी ल्याएर विद्युतगृहमा खसालेर विद्युत उत्पादन गर्न थालिएको आयोजनाका इलेक्टिकल इञ्जिनियर सुनिल कुमार शाहले जानकारी दिनुभयो ।
हरिस्वाँरामा रहेको विद्युतगृहमा पानी खसाल्ने हेड ५१० मिटर उचाईको रहेको छ । विद्युतगृहबाट दाना सबस्टेशन जोड्ने ३३ केभी क्षमताको चार दशमलब तीन किलोमिटर प्रशारण लाइन निर्माण भएको छ । रु एक अर्ब ३५ करोड वित्तिय व्यवस्थापन गरेर निर्माण भएको यस आयोजनामा हिमालयन बैँक र राष्ट्रिय वाणिज्य बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् । यस आयोजना बनाउनका लागि सिभिलतर्फ साकुरा पावर कन्ट्रक्सन, हाइड्रो मेकानिकलतर्फ वर्कसप इन्जिनियरिङ सर्भिसेस प्रा.लि र इलेक्टोमेकानिकल तर्फ फेलोभेल इनर्जि प्रा.लि. इन्डियाले ठेक्का लिएका थिए । अक्करे भिर पहाडलाई छिचोलेर पहुँचमार्ग बनाउनु परेको र बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिको सामाना गर्दै आयोजनाले निर्माण सकेर विद्युत् उत्पादन सुरु गरेको आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले बताउनुभयो ।
नारच्याङ गाउँमा यस अघि ११० मेगावाट क्षमताको नीलगिरी एक र निलगिरी क्यासेट, पाँच मेगावाट क्षमताको घलेम्दीखोला र ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत निर्माण सम्पन्न भएर राष्ट्रिय प्रशारणमा जोडिइसकेको छ ।

कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l