विद्यार्थीलाई सिर्जनशिल बनाउन ‘बुक फ्रि फ्राइडे’ सञ्चालन

  • ३२ जेष्ठ २०८२, शनिबार
  • 1 पटक पढिएको

म्याग्दी, ३१ जेठ । म्याग्दीको बेनी नगरपालिका– १० वाखेतमा रहेको विद्योदय आधारभूत विद्यालयले विद्यार्थीलाई सिर्जनशिल बनाउनका लागि ‘बुक फ्रि फ्राइडे’ अभियान सञ्चालन गरेको छ । हरेक हप्ताको शुक्रबार विद्यार्थीहरुलाई किताब रहित तवरले व्यवहारिक सिकाईका लागि विद्यालयले उक्त अभियानको सुरुवात गरेको हो ।
विद्यार्थीहरूलाई परम्परागत पाठ्यपुस्तकको साँघुरो घेराबाट मुक्त गर्दै उनीहरूको सिर्जनशीलता, आत्मविश्वास र जीवन कौशललाई उजागर गर्ने प्रेरणादायी पठनयात्रा सुरु गरिएको विद्यालयका प्रधानध्यापक प्रकाश अधिकारीले जानकारी दिनुभयो । ‘‘ हरेक शुक्रवार पाठ्यपुस्तक नल्याइकन विद्यार्थीहरु विद्यालयमा आउछन, विद्यार्थीहरुको सिर्जनालाई प्राथमिकता दिएर हामीले व्यवहारिक, क्षमता विकास र सीपमुलक कुराहरु सिकाउने जमर्को गरेका छौँ’’– प्रधानध्यापक अधिकारीले भन्नुभयो ।
शुक्रवार विद्यालयको कौसीमा हाउस अनुसार ब्लक विभाजन गरी पहिलो पटक तरकारी खेती गरी बुक फ्रि फ्राइडे अभियानको सुरुवात गरिएको विद्यालयले जनाएको छ । विद्यालयका शिक्षकहरुको मार्गदर्शनमा विद्यार्थीहरूले माटो, कम्पोस्ट मल र बालुुवाको मिश्रण तयार गरेर पूराना बोरा र काठका फ्रेम बनाएर बिरुवा रोपेका छन् ।
कौसीमा विद्यार्थीहरुलाई फर्सी, भिन्डी, खुर्सानी, मुला, रायो, सिमीलगायतका मौसमी तरकारीहरू रोप्न सिकाएर कृषिजन्य ज्ञानसँगै श्रम संस्कार सिकाउन थालिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाबहादुुर पाइजाले बताउनुभयो । यसले विद्यार्थीहरूलाई प्रकृतिसँगको सम्बन्ध र जिम्मेवारीबोध विकास गराउन मद्दत पु¥याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

‘बुक फ्रि फ्राइडे’ले विद्यार्थीहरूलाई किताबी ज्ञानभन्दा माथि उठेर जीवनका व्यावहारिक पाठहरू सिक्ने अवसर प्रदान गरेको छ । विद्यालयले हरेक शुक्रवार विद्यार्थीहरुलाई श्रम, संस्कृति, प्रकृति, पर्यावरण, जीवनशैलि, रहनसहन, सीप विकास, क्षमता विकास लगायतका गतिविधिसंग जोडेर दिर्घकालिन परिवर्तन र नविन सोचको विकास गराउने कार्यक्रमहरुमा जोड्ने योजना बनाएको छ ।

विद्यालयले शुक्रवारको पठनपाठनलाई किताब रहित बनाएपछि विद्यार्थीहरु समेत उत्साहित बनेका छन् । विद्यालयले सूरु गरेको बुक फ्रि फ्राइडे अभियानले विद्यार्थीहरुमा रहेको नबिन सोच र प्रतिभालाई उजागर गर्न र उनीहरूलाई आत्मविश्वासका साथ अगाडि बढ्न प्रेरित गर्ने विद्यालयका कार्यक्रम संयोजक शिक्षक अमृता जिसी रोकाले बताउनुभयो ।
अभियानको पहिलो चरणमा तरकारी खेती सुरु गरिएको र आगामी दिनमा विद्यार्थीहरुले कौसीमा तरकारी फलाउने, फूलबारी सजाउने, बगैंचाको स्याहार गर्ने, स्वच्छता अभियानमा जुट्ने, चित्रकला, हस्तकला, कविता लेखन, उद्घोषण तथा पत्रकारिता, वक्तृत्वकला, खेलकुद र सांस्कृतिक गतिविधिमा जोडेर शिक्षण सिकाई गरिने विद्यालयले जनाएको छ । बि.स. २०२२ सालमा स्थापना भएको विद्यालयमा हाल बालविकास देखि कक्षा ८ सम्म ७७ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।