मतिखर्क सिचाई आयोजना एक वर्षपछि सूचारु
- २८ जेष्ठ २०८२, मंगलवार
- 159 पटक पढिएको
बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा रहेको मतिखर्क सिचाई आयोजना एक वर्षपछि सूचारु भएको छ । गत बर्खामा मतिखर्क स्थित मुहानमा बाढी र पहिरोले क्षति पु¥याएपछि खिवाङ र घारको रोपनी खेतीयोग्य जमिनमा सिचाई हुन सकेको थिएन् । खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीको सहयोगमा योजना पुनःनिर्माण भएको अन्नपूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो ।
“गत बर्खायामदेखि धान, गहुँ, मकै र आलु बालीमा सिचाई गर्न नपाउँदा खेतीबालीको उत्पादनमा असर परेको थियो,” उहाँले भन्नुभयो “बर्खे धानको विउको ब्याड राख्ने समयमा सिचाई योजना पुनःनिर्माण भएपछि कृषकहरुलाई राहत मिलेको छ ।” पानी नहुँदा कृषकहरुले धानको विउको ब्याड राख्न पाएका थिएनन् । यसपाली गहुँ र मकै खेती पनि सिचाई गर्न नपाउँदा राम्रो भएन् । तीन सय घरपरिवार कृषकको करिब एक हजार रोपनी जमिनमा सिचाई सुविधा पुगेको छ ।
मुहान मर्मतका साथै १० मिटर पाइपलाइन जडान र सात दशमलब पाँच मिटर पक्की नहर निर्माण भएको छ । उपभोक्ता समितिका अध्यक्ष गोविन्द बरुवालले पहिरोले ४५ थान ग्यावीयन पर्खाल लगाएर त्यसमाथी पाइप जडान र नहर बनाएको बताउनुभयो । खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीका प्रमुख झलकमोहन ओझाले आकस्मिक मर्मत सम्भार कार्यक्रम अन्र्तगत मतिखर्क सिचाई योजना मर्मत गरेको बताउनुभयो । सिचाईको अभावमा खेतीबाली लगाउनै नसक्ने अवस्थाका विषयमा स्थानीय जनप्रतिनिधी र उपभोक्ताले जानकारी गराएपछि स्थलगत निरिक्षण गरेर मर्मत गरिएको उहाँले बताउनुभयो । योजना मर्मतका लागि कार्यालयले करिब रु. पाँच लाख बजेट खर्च भएको जनाएको छ । कार्यालयले करिब दश वर्षअघि उक्त आयोजना निर्माण गरेको थियो ।