लुलाङमा केन्द्रीय प्रसारण लाइनको बिजुली

  • २७ जेष्ठ २०८२, सोमबार
  • 1 पटक पढिएको

म्याग्दी– धवलागिरि गाउँपालिका–२ लुलाङमा केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत सो गाउँपालिकाको केन्द्र मुना हुँदै लुलाङमा केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको हो । मुख्य शाखा लाइनको पोल गाड्ने, तार तान्ने र १०० केभिए क्षमताको ट्रान्सफर्मर जडान गरेर विद्युत् आपूर्ति गराइएको धवलागिरि–२ का वडाध्यक्ष अकप्रसाद कुमाईले जानकारी दिए।

‘परीक्षण सफल भएको छ, उपभोक्ताको घरघरमा वाइरिङ र मिटर बक्स जडान गरेर बिजुली बाल्ने काम भइरहेको छ,’ उनले भने, ‘मिटरबक्स जडान भइसकेको नयाँ वनमा गत फागुनमा नेपाल टेलिकमले राखेको मोबाइलको बिटिएस टावर सञ्चालनमा आएको छ ।’ विद्युत् अभावमा मोबाइल टावर सञ्चालन हुन सकेको थिएन । लुलाङ, लमसुङ, खोरिया र मरेनी टोलमा केन्द्रीय लाइन पुगिसकेको छ । यहाँका बासिन्दाले हाल उज्यालोका लागि लघुजलविद्युत् परियोजना र सौर्य ऊर्जा प्रयोग गर्दै आएका थिए । दरखोला जलविद्युत् आयोजनामा पटक–पटक समस्या आउन थालेपछि लुलाङवासी समस्यामा परेका थिए ।

साबिक लुलाङ गाविसमा ३७० घरपरिवारको बसोबास छ । म्याग्दीका १४ स्थानका दुई हजार १८३ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सुविधा विस्तारका लागि प्राधिकरणले आर्थिक वर्ष २०८०-८१ देखि २२ करोड बजेटको योजना सञ्चालन गरेको छ । यस योजनामार्फत यसअघि मालिका गाउँपालिका–१ निस्कोट, २ रुम, ३ डाडागाउँ, पात्ले, वडा नं ४ ओखरबोटका ६००, धवलागिरिको मलम्पारका १५० र बुलका ४५ घरमा विद्युतीकरण भइसकेको छ ।

मालिका गाउँपालिकाको चिउरीबोट, महभिर र धवलागिरि गाउँपालिकाको मल्कवाङमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताए। यो ठेक्कामार्फत धवलागिरि–१ को गुर्जाबाहेकका बस्तीमा केन्द्रीय विद्युत् सुविधा पुग्ने उनले बताए।