अन्नपूर्ण आधार शिविरमा गुञ्जीयो ‘फ्रान्सेली संगीत’
- २२ जेष्ठ २०८२, बुधबार
- कमल खत्री
- 87 पटक पढिएको
म्याग्दी , २१ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पहिलो पटक ‘फ्रान्सेली संगीत’ गुञ्जीएको छ । अन्नपूर्ण प्रथम हिमाल (८०९१ मि) आरोहणको ७५ बर्ष पूरा भएको अवसरमा मंगलवार आयोजित ‘अन्नपूर्ण हीरक महोत्सव’को अवसरमा समुद्री सतहदेखि ४ हजार ५० मिटर उचाईमा रहेको आधार शिरिमा फ्रान्सेली कलाकारहरुको टोलीले सांगीतिक प्रस्तुती राखेका हुन् ।
अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगका छोरा माथिएस हर्जोगको नेतृत्वमा रहेको अन्नपूर्ण संगीत समूहले आधार शिविरमा नेपाली संगीतको झल्को दिने साँगेतीक प्रस्तुती राखेका हुन् । हार्मोनियम, बाँसुरी, गीतार लगायतका नेपाली बाध्यबाधनका साधनको संगीतमा फ्रान्सेली कलाकारहरुले राखेको साँगेतीक प्रस्तुतीले आधार शिविरमा पुगेका आन्तरीक पर्यटकहरु लोभिएको अन्नपूर्ण हीरक महोत्सव आयोजक समितिका सदस्य तेज गुरुङले बताउनुभयो ।
‘‘अन्नपूर्ण आधार शिविरमा पहिलो पटक संगीत गुञ्जीएको हो, फ्रान्सेली कलाकारहरुको समूहले राखेको यो प्रस्तुतीले आगामी दिनमा हामीलाई आधार शिविरमा साँगेतीक प्रस्तुतीका कार्यक्रमहरु आयोजना गर्न प्रेरित गरेको छ’’– अन्नपूर्ण पदमार्गका अभियन्ता समेत रहनुभएका गुरुङले भन्नुभयो । कलाकारहरुले नेपाली पन झल्कने संगीत, गीत प्रस्तुत गर्नुका साथै फ्रान्समा प्रचलित नृत्य समेत प्रस्तुत गरेका थिए । अन्नपूर्ण हिमालको काखमा रहेको मनोरम पञ्चकुण्ड ताल परिसरमा प्रस्तुत संगीतमा नेपाली र विदेशी पर्यटकहरुले रुचिका साथ अवलोकन गरेका थिए ।
हीरक जयन्तीको अवसरमा आयोजित पदयात्राको नेतृत्व गर्दै आधार शिविर पुग्नुभएका टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले संगीतको माध्ययमबाट पर्यटकीय क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा सघाउ पुग्ने बताउनुभयो । फ्रान्सेली कलाकारहरुको समूहले नारच्याङमा आयोजित हीरक जयन्ती मूल समारोहमा समेत सांगेतीक प्रस्तुती राखेका थिए ।
अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा पर्यटन बोर्ड, पर्वतारोहण संघ, टान, एक्याप र अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समितिको संयुक्त आयोजनामा आयोजित हीरक महोत्सवको अवसरमा आधार शिविरमा मौरिस हर्जोग, लुइस लाचेन र प्रथम नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको अर्धकद सालिक अनावरण गरिएको छ भने आधार शिविर देखि नारच्याङ गाउँसम्मको करिब ३६ किलोमिटर दुरीको म्याराथन प्रतियोगिताका साथै पुख्र्यौली नाचलगायतका कार्यक्रम सम्पन्न गरिएको छ ।

कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l